राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि विद्यार्थीलाई घोराही बनाऔं अभियानबाट सहयोग

दाङ, पुस १० । घोराहीमा यही पुस ११ गतेदेखि हुन लागि रहेको राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन यहाँका विद्यालयहरु व्यापक तयारीमा जुटेका छन् ।
घोराहीको गोरखा इन्टरनेशनल पव्लिक सकेन्डरी स्कुलको आयोजनामा हुन लागिरहेको प्रतियोगितामा सहभागिता जनाउन विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले तयारी गरिरहँदा घोराही–१९ सैघास्थित एक विद्यालय भने विद्यालयको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण प्रतियोगितामा सहभागिता जनाउन पोशाक समेत नभएर छटपटाई रहेको समयमा विद्यालयको थोरै भएपनि छटपटि घोराही बनाऔं अभियानले मेट्ने प्रयास गरेको छ ।

घोराही–१९ सैघास्थित भगवति मावि होडबाङका विद्यार्थीलाई प्रतियोगितामा पोशाक खरिद गर्नका लागि घोराही बनाऔं अभियानले नगद ५ हजार सहयोग गरेको छ । अभियानको संयोजक सविन प्रियासन, सल्लाहकार नरेन्द्र पुन, अभियानकर्मीहरु अर्जुन पन्थी, रितेश निरौलाले विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर डाँगीलाई नगद रकम हस्तान्तरण गर्नु भएको हो ।

आर्थिक अभावको विषयमा प्रअलगायत विद्यालयले सहयोगको याचना गर्दै निरन्तर सामाजिक सञ्जालमा सहयोगको याचना समेत गरिरहनु भएको थियो । विकट पहाडी क्षेत्रमा विद्यालय भएको र विपन्न घरपरिवारका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले विद्यालय अनि विद्यार्थीहरुको आर्थिक अवस्था समेत एकदमै जर्जर भएको प्रअ डाँगीको भनाई छ । घोराही बनाऔं अभियानले विद्यालय र विद्यार्थीको मनोबल उचो बनाउने गरी आर्थिक सहयोग गरेकोमा प्रअ डाँगीले अभियानकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कक्षा दशसम्म पढाई हुने उक्त विद्यालयमा ५ सय बढि विद्यार्थीहरु अध्ययन गर्दछन् । यसैबीच पुस ११ गतेदेखि हुन लागि रहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन आयोजक संस्था गोरखा इन्टरनेशनल पश्विल सकेन्डरी स्क्ूलले सबैमा अनुरोध गरेको छ । विद्यालयका प्रअ तथा प्रतियोगिताका सचिव मानसिंग रोकाले पुस ११ गते सवा १२ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रममा सहभागिता जनाउन सबैसँग अनुरोध गर्नुभएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका संयोजक घोराही नगर खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।