काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ५ गतेभित्र उम्मेद्वारको सिफारिस गर्न देशभरका प्रदेश समितिलाई परिपत्र पठाएको छ।
सत्ता गठबन्धनका दलबीच आपसी तालमेल र उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे अध्यक्ष प्रचण्डले पार्टीका सबै प्रदेशका इन्चार्ज र अध्यक्षलाई ६ बुँदे परिपत्र पठाएका हुन्।
परिपत्रमा उम्मेदवार छनोट गर्दा हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्ष र हरेक पालिकामा कम्तीमा एक वडाध्यक्षमा महिला उम्मेदवार राख्न भनिएको छ।
त्यसैगरी अध्यक्ष प्रचण्डले सकेसम्म सत्ता गठबन्धनका दलबीच तालमेललाई प्राथमिकता दिने तर तालमेल हुन नसक्ने अवस्था आएमा र सत्ता साझेदार दलबीच नै स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आए केन्द्रको स्वीकृति लिएर गर्न सर्कुलर गरिएको छ।
महानगर, उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत भए एक– एक जना, नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पठाउन प्रदेश समितिलाई भनिएको छ। यसको अन्तिम निर्णय भने केन्द्रीय कार्यालयले गर्ने उल्लेख छ।
यसैगरी नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका समितिले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउन भनिएको छ। जसको अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने माओवादी केन्द्रको परिपत्रमा उल्लेख छ।
परिपत्रअनुसार वडाध्यक्ष र सदस्यको हकमा पार्टीको सम्बन्धित वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्नुपर्नेछ।
माओवादी केन्द्रको उम्मेदवार छनोट गर्न ६ बुँदे परिपत्र

ट्रेन्डिङ