जेहोस्, यहाँ उठाउन खोजिएको विषय जुनसुकै राजनीतिक सिद्धान्तबाट मुलुकलाई अगाडी बढाइएपनि मुलुकको राज्यव्यवस्था अब युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने हो । युवा परिवर्तनको सम्वाहक हो । सचेत युवाहरु सही तवरले परिचालन भएमा, मुलुकको नेतृत्व युवाले सही तवरले गर्न सकेमा समृद्धि र विकासको अगुवाई नै युवा पंक्तिले गर्न सक्छ । यसका लागि युवा अबसरको पखाईमा छ । अहिलेसम्मको स्थिति हेर्दा युवा पंक्तिले मुलुकलाई सही मानेमा नेतृत्व गर्ने अबसर नै प्राप्त गरेको छैन । लामो समयदेखि यहाँका राजनीतिक दलहरुमा उमेर पुगेका व्यक्तिहरुको नै हालि मुहालि रह्यो । कुनै पनि दलको नेतृत्व युवा वर्गले गरेको देखिदैन । विश्वकै परिभाषामा १६ देखि ४० वर्षको उमेर समूहलाई युवामा गणना गरिन्छ । तर पछिल्लो समयमा यो उमेर समूह राजनीतिक दलभित्र धेरै तल्लो, अथवा कमजोर अवस्थामा छ । नेपालका राजनीतिक दलहरुको नेतृत्व ६० वर्ष माथिका व्यक्तिहरुले गरिरहेका छन् । पछिल्लो समय खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पनि ४० कटेकै व्यक्तिको हातमा छ । नेपालको राजनीतिक इतिहासमा भन्नु पर्दा ठूलो दल भन्नेहरु कांग्रेस,एमाले,माओवादीहरुले…नेतृत्व युवाहरुलाई हस्तान्तरण गर्ने मनसायमा भएको देखिदैन।
यसको पछाडि धेरै कारणहरु छन्, त्यस मध्यको एउटा कारण हो, नेतृत्व हस्तान्तरण गर्न कञ्जुस्याई गर्ने सोँच र घाटमा नपुग्दा सम्म म नै हुकुमको वास्सा हुनुपर्छ भन्ने सन्किर्र्ण सोँच भएको देखिन्छ । सकेसम्म आफै नेतृत्व गर्ने, नेतृत्व सुम्पनु परेपछि युवालाई विश्वास नमान्ने र आफु नेतृत्वमा नभएपछि आफ्नो कालो कर्तुत खुल्ने डरले युवाहरु पछी परेका हुन त ??
यी र यावत कारणले गर्दा मुलुकमा युवाले राजनीतिको नेतृत्व गर्ने अबसर नै प्राप्त गरेको छैन ।
हामी यतिबेला समृद्धि र विकासको चरणमा छौ । विश्व प्रविधियुक्त भैसको छ । नेपाल पनि अब क्रमश डिजिटल युगमा प्रवेश गर्दैछ । तसर्थ विश्व रफतारमा जसरी विकसित मुलुकहरु अगाडी बढेका छन्, ती मुलुकहरुसँग काँधमा काम मिलाएर नयाँ प्रविधि र युगको माग अनुसार मुलुकलाई अगाडी बढाउनका लागि अब सबै राजनीतिक दल अनि सिंगो मुलुकको नेतृत्व युवाले गर्नुपर्छ । हिँजोका दिनमा झण्डा उठाएको नाममा अब मुलुकको नेतृत्व समय अनुसार अगाडी बढ्न नसक्नेहरुको हातमा अब सुम्पनु हुँदैन । सबै राजनीतिक दलहरु नयाँ पुस्ताको नेतृत्वमा अगाडी बढ्नुपर्छ । मुलुकको कार्यकारी पदमा पनि अब युवा नै आउनुपर्छ । अभिभावकको सन्दर्भमा राष्ट्रप्रमुख ४५ वर्ष पुगेपछि मात्र हुन पाइने संवैधानिक प्रावधान छ, यो ठिक छ । पाका नेताहरु अब मुलुक अनि राजनीतिको अभिभावक बन्ने, युवाहरुले कार्यकारी पदमा रहेर काम गर्ने हो भने अबको केही वर्षमा नै मुलुकको अभूतपूर्व विकास हुनेछ । युवाहरुले पनि अब अरुको नेतृत्वमा मात्र आफूहरुको भविष्य छ भन्ने सोँच त्याग्नुपर्छ । युवाहरु जबसम्म राजनीतिक बिद्रोह नेतृत्व गर्न अग्रसर हुँदैनन्, पुरानो पुस्ता अनि मान्यताले युवालाई थिचि रहनेछ । अर्थात कर्नरमा राखि रहनेछ । युवाको सहभागिता, नेतृत्व बिना मुलुक निर्माण हुन सक्दैन । नेपालमा जनमतको हिसाबले भन्नु पर्दा सबै भन्दा ठूलो जनमत रहेको कम्युनिष्ट विचारधारा भएका पार्टीहरु हुन् वा प्रजातान्त्रिक विचारधारा राख्ने पार्टीहरु हुन् वा नयाँ चिन्तनसहित स्थापित हुन खोजेका पार्टीहरु हुन्, युवाको नेतृत्वमा अगाडी बढ्ने कार्ययोजनासहित अगाडि आउनुपर्छ । मुलुकलाई अहिलेको विडम्वनापूर्ण अवस्थाबाट उकास्नका लागि युवा नेतृत्व अनिवार्य छ । युवाको नेतृत्व बिना नेपालको विकास सम्भव छैन ।