अब पनि पाका नेताहरुबाट देशको बागडोर छिन्न सकिन्छ, भन्ने आशा गर्न सकिन्छ?

भाद्र,३ प्युठान।
लामो समयसम्म दलका नेता कार्यकर्ताबाट जनताले अपेक्षा गरे बमोजिम विकास निकास नहुँदा यस पटक देशको राजधानीमा समेत दलको विकल्प स्वतन्त्र उम्मेदवारलाई रोजियो ! यसका साथै देशका अन्य शहरहरुमा समेत स्वतन्त्रबाट स्थानीय तहको जिम्मेवारी विभिन्न व्यक्तिहरुले प्राप्त गरे । यसका साथै देशभर धेरै वडा तहसम्म स्वतन्त्रमा युवाहरुले समेत दलीय बन्धनलाई तोड्दै आमनागरिकको मन जित्न सफल भए । यसरी देशमा लोकप्रियताकै अधारमा कैयौं स्वतन्त्र युवाहरूले विजयी हासिल गरे पश्चात् केही लोकप्रिय व्यक्ति समेत नयाँ पार्टी खोलेर राजनीतितर्फ आकर्षित भएको हामीले देख्न सक्छौं । यसरी लोकप्रिय युवाहरु राजनीतिमा आउनुले अन्य लाखौं युवाहरूलाई त्यसले प्रत्यक्ष प्रभाव पार्दछ । राजनीतितर्फ युवाहरूको आकर्षण बढ्नु समग्र देशको लागि सकारात्मक कुरा पनि हो ।
तर यसका साथै पछिल्लो समयमा स्वतन्त्र रहेर चुनाव जितेका दुई मेयरहरुको आवश्यक समन्वय गर्नुको साटो पछिल्लो समय सामाजिक संजालमार्फत एकअर्कालाई आरोप प्रत्यारोप लगाउने प्रवृत्तिले युवापुस्तामा राजनीतिप्रती पहिलेको तुलनामा झनै वितृष्णा र निराश पैदा गर्ने काम गरेको पाइन्छ । म र मेरो मात्र राम्रो भन्ने प्रवृत्तिबाट निराश भएका जनताहरुले विकल्पका रुपमा स्वतन्त्र व्यक्तिप्रति रहेको आकर्षण पनि घट्न थालेको देखिन्छ । यसले अन्य युवाहरूलाई समेत राजनीतिक चेतनामा नकारात्मक असर पक्कै गर्दछ । अब विभिन्न राजनीतिक नेतृत्वहरुले युवा व्यवस्थापनका साथै राजनैतिक संस्कार समेत सुधार्नु पर्ने जरुरी देखिन्छ । अन्यथा देशमा बुढा राजनीतिज्ञहरुको विकल्पमा युवा आउने सम्भावना कम नै रहन्छ र युवामा विदेशप्रतिको मोह र आकर्षण झन बढ्न थालेको छ । जीवनको उर्जाशील समय परदेशमा बिताउने र बुढेसकालमा देश चलाउन घरदेश फर्केने अवस्था सिर्जना भइरहेकै छ । यसले देशको भविष्य कता जाला ?