छैठौँ संस्करण मेयर कप फुटबलको उपाधि वडा नम्बर १७ लाइ

छैठौँ संस्करण मेयर कप फुटबलको उपाधि वडा नम्बर १७ ले जितेको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा भएको वडा स्तरीय मेयर कप आज भएको फुटबलको उपाधि भिडन्तमा वडा नम्बर १० लाई २–१ गोल अन्तरले हराउँदै वडा नम्बर १७ ले पहिलो पटक उपाधि जितेको हो ।

घोराही १८ नवलपुर फुटबल मैदानमा हजारौँ दर्शकहरुको उपस्थितीमा आज भएको फाईनल खेलमा पहिलो हाफमा वडा नम्बर १७ का युवराज रानाले गोल गर्नुभएको थियो । दोश्रो हाफमा वडा नम्बर १० का दिपेश पुनले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याउनु भएको थियो । निकै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर १७ का सुजल बस्नेतले इन्जुरी समयमा गोल गरेपछि वडा नम्बर १७ ले मेयर कपको उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधि जिेतसँगै वडा नम्बर १७ ले प्रथम शिल्ड, मेडल, प्रमाण पत्र र नगद १ लाख रुपैया पुरस्कार पाएको छ । उपविजेता बनेको वडा नम्बर १० ले पनि मेडल, प्रमाण पत्र र नगद पचास हजार रुपैयाँ पाएको छ ।

पुस २० गतेबाट शुरुभएको लिग कम नकआउट प्रतियोगितामा पालिकाभरका १९ वटै वडाको सहभागीता रहेको थियो । सेमीफाईनलमा वडा नम्बर १० ले ३ लाई र वडा नम्बर १७ ले १३ लाई पराजित गर्दै फाईनल प्रवेश गरेका थिए ।

कुल ४३ वटा खेल भएको प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई खेलाडीलाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीवडा नम्बर १७ का कप्तान बिक्रम बिक, उत्कृष्ट गोल किपर वडा नम्बर १७ का दिवान घर्ती, उत्कृष्ट डिफेन्डर वडा नम्बर १७ का सुजल बस्नेत, उत्कृष्ट मिड फिल्डर वडा नम्बर १० का दिपेश पुन, सर्वाधिक गोलकर्ता वडा नम्बर ७ का नबीन चौधरी घोषित हुनुभयढो । यसैगरी, सबैभन्दा अनुशासित टीम वडा नम्बर ३ बन्दा उत्कृष्ट व्यवस्थापक, कोच र स्वास्थ्य संयोजक वडा नम्बर १७ का भोला घर्ती, जोशेफ रोका मगर र भीम बहादुर चौधरी हुनुभयो ।

विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलगायत सबैलाई एक समारोह बीच आजै सम्मान गरिएको छ । नगर स्तरीय खेलकुद विकास समिती संयोजक नरेन्द्र पुनको अध्यक्षता तथा उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, रेफ्री, अफिशियल सबैलाई सम्मान गरिएको हो ।