विद्यालयस्तरीय फुटबलमा जनज्योति प्रथम

घोराही पुस १९ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा घोराहीको जनज्योति िविद्यामन्दिर प्रथम भएको छ ।

बिहीबार तुलसीपुरको दुधराशस्थित रंगशालामा दर्शक, समर्थकहरुले खचाखच भरिएको फाइनल खेलमा घोराहीकै पुलिस स्कूललाई पेनाल्टी सुट आउटमा ३ का बिरुद्ध ४ गोल गर्दै जनज्योति पहिलो भएको हो । दुबै पक्षका दर्शकहरुको बाक्लो उपस्थिति रहेको ३५÷३५ मिनेटको फाइनल खेलमा जनज्योतिले पहिलो हाफको सुरुमै २ गोल गरेर टिमलाई अग्रता दिएको थियो ।
त्यसपछि आक्रामक बनेको पुलिस स्कूलले पहिलो हाफमै दुई गोल फर्काएर खेल बराबरिमा पुराएको थियो । त्यसपछि दोस्रो हाफमा दुबै टिमले गोल गर्ने प्रशस्त अबसरहरु सदुपयोग गर्न सकेका थिएनन् । पेनाल्टी सुटआउटमा जनज्योतिले लुम्बिनी फुटवल एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगितालाई आफ्नो पोल्टामा पारेको छ । जिल्लाका ४२ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा सहभागि पहिलो, दोस्रो र सेमीफाइनलमा पुगेको दुई टिम गरेर निकट भविष्यमै हुने लुम्बिनी प्रदेशस्तरीय फुटवल प्रतियोगितामा समावेश गराउने लक्ष्य लिएको लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समिर वलीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार नगद, दोस्रो हुनेलाई २० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
एकेडेमीका अध्यक्ष समीर वलीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दाङ युवा मञ्चका संस्थाक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासनले समृद्धिका लागि खेलकूदको विकास अनिवार्य हुनुपर्ने बताउनुभयो । प्रमुख अतिथि प्रियासनले खेलकूदको विकासका लागि खेल शिक्षालाई राज्यले नीतिगतरुपमा प्रभावकारी योजना बनाएर लागू गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा खेलकूदका विकास हुन सक्ने विश्वास व्यक्त गर्दै सबै पालिकाहरुले अहिलेको भन्दा पनि माथि उठेर खेलको विकासका लागि बजेट, योजना र कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा दाङ जिल्ला खेलकूद विकास समितिका निमित्त कार्यालय प्रमुख राकेश परियारले खेलकूदको विकासका लागि सबैले साथसहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतियोगितााको समापन कार्यक्रममा जनज्योति विद्यामिन्दरका प्रिन्सीपल दिव्य अधिकारी, पुलिस स्कूलका निमित्त प्रिन्सीपल मानबहादुर सिंह, प्रहरी निरीक्षक हेमराज घिमिरेलगायतको सहभागिता रहेको थियो । दाङ जिल्ला फुटबल संघको संयोजन एवं न्यू स्टार फुटवल एकेडेमीको व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको फाइनल कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई प्रशंशा पत्र पनि प्रदान गरिएको थियो । प्रतियोगितामा विभिन्न उत्कृष्ट खेलाडीहरुलाई मेडल, प्रमाणपत्र, ट्रफि प्रदान गरिएको थियो ।