सेयर बजारमा सुधार, ४ अर्बको कारोबार, सोनापुर र शिवम् सिमेन्ट शीर्षमा

दाङ, पुस  । बजार बढ्दा परिसूचक २०५८.०० बिन्दुमाथि आइपुगेको छ। यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेको छ। यस अघि पुस ५ गतेयता सेयर बजार निरन्तर घट्दै आइरहेको थियो ।
सेयर बजार घट्दा निकै नै घटेको होटल तथा पर्यटन, जलविद्युत समूह, लगानी, उत्पादन तथा प्रशोधन क्षेत्र लगायत सबैजसो क्षेत्रमा निकै सुधार देखिएको छ। यस बाहेक आज सबैजसो समूह बढेका छन्। बजार बढ्दा आज २०९ सूचीकृत कम्पनीको सेयर मूल्य बढेको हो । नेप्सेका अनुसार १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

ब्रोकरहरुका अनुसार अन्तिममा खरिदचाप एक्कासि बढेर बन्द भएको हो। ‘केही कम्पनीको सेयर मूल्य बढ्न लागेपछि सवा २ बजेपछि एक्कासि बजारमा हाई डिमान्ड आयो। पछिल्लो केही दिनयता बजार धेरै घटिसकेकाले पनि आज बजार सकारात्मक हुन पुग्यो,’ केवीएल सेक्युरिटिजका सीइओ विनय रेग्मीले भन्नुभयो ।दिव्येश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्स, मुक्तिनाथ कृषि कम्पनीलगायत १० कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बुधबार पनि ४ अर्ब ४ करोड बराबरको सेयर कारोबार भएको छ। कारोबारका आधारमा शीर्ष स्थानमा सोनापुर मिनरल्स छ। उक्त कम्पनीको २६ करोडको सेयर कारोबार भयो। यस्तै शिवम् सिमेन्टको २३ करोड बराबरको कारोबार भएको छ। यी दुवै कम्पनीमा अन्तिममा खरिद चाप बढी आउँदा मूल्य र कारोबार दुवै बढ्न पुगेको हो। १५ करोडको कारोबार भएर आइएमई लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रह्यो।