रझेना माविको ६६ औं वार्षिकोत्सव सम्पन्न

दाङ, पुस  । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले शैक्षिक जनशक्ति कामकाजी, क्षमतावान, हरेक ठाउँमा बिक्न सक्ने, टिक्न सक्ने बनाउनका लागि अबका दिनमा अनिवार्य व्यवहारिक शिक्षा नगरभित्र प्रदान गरिने बताउनु भएको छ ।
घोराही–१८ रझेनास्थित रझेना माविको ६६ औं वार्षिकोत्सब समारोहलाई उद्घाटन गर्दै मेयर चौधरीले यसको लागि व्यापक गृहकार्य भैरहेको र नगरभित्रका ९३ वटै सामुदायिक र निजी विद्यालयहरुबाट सिर्जनशील विद्यार्थी उत्पादन गर्न पेपरलेस शिक्षा अनिवार्य गर्ने तर्फ समेत योजना बनाइ रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चौधरीले जुन सुकै क्षेत्रमा जाँदा पनि नेतृत्व गर्न सक्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउँदै यसको लागि शिक्षा क्षेत्रको विकासलाई समेत आफूहरुले उच्च प्राथमिकता दिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि गौतमको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले समृद्धि, विकास र सुशासनको आधार शिक्षा भएकाले शिक्षालाई समय सापेक्ष ढंगबाट अगाडी लैजानुपर्ने सुझाब दिनुभयो ।

कार्यक्रममा घोराही–१८ का वडा अध्यक्ष भरत अर्याल, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष विकिरन गौतम, नागरिक समाज दाङका पूर्व संयोजक एवं विद्यालयका पुरस्कार स्थापनाकर्ता चन्द्रराज पन्त, विद्यालयमा पुरस्कार स्थापना कर्ता कानून व्यवसायी गोमा महरा, पुरस्कार स्थापनाकर्ता एवं पूर्व शिक्षक गणेशराज श्रेष्ठलगायतले रझेना माविले उल्लेख्य प्रगति गरेको बताउँदै समय अनुसार शिक्षणसिकाई पदतीलाई विद्यालयले अनुसरण गर्न सकेमा गुणस्तरीय शिक्षा र सिर्जनशील विद्यार्थी उत्पादन हुने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक उद्धब न्यौपानेले विद्यालयको आर्थिक, वार्षिक प्रतिबेदन पेश गर्दै विद्यालयलाई आत्मनिर्भर बनाउन, विद्यालयबाट कामकाजी विद्यार्थीहरु उत्पादन गर्नका लागि विभिन्न कार्ययोजना बनाएको बताउनुभयो । उहाँले विद्यालयको विकासमा देखा परेको समस्याहरुका बारेमासमेत सबैलाई अवगत गराउनु भएको थियो । सो अबसरमा प्रमुख अतिथि मेयर चौधरीले व्यवस्थित चमेना गृहको उद्घाटन गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा विद्यालयको मुखपत्र उर्जा विमोचन गरिएको थियो । सो अबसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत देखाएका थिए । सो अबसरमा उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न व्यक्तिहरुले विद्यालयमा स्थापना गरेको पुरस्कार अक्षयकोषबाट पुरस्कार दिइएको थियो । कार्यक्रममा पुरस्कार स्थापना कर्ता, जग्गादाता एवं विभिन्न संरचना निर्माण गर्ने दात्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा रामहरि रिजालले मुरलीको धुनबाट सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहप्राध्यापक लालमणि आचार्य, शिक्षिक जानकी घर्तीले गर्नुभएको थियो ।