राज्यका जिम्मेवार निकाय सही तरिकाले नेतृत्व गर्न असक्षम- पोख्रेल

दाङ, पुस  । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले राज्यका जिम्मेवार निकायमा रहेकाहरुबाट सही रुपमा नेतृत्वदायी भुमिका हुन नसक्दा शासकीय स्वरुपका हरेक संरचना स्खलित हुँदै गएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोख्रलले संघीय संरचनाको मर्म अनुसारका हरेक गतिविधिहरु मर्यादालाई बोध गरेर संचालन हुन नसक्दा शासकीय स्वरूप नै कमजोर भईरहेको जिकिर गर्नुभयो ।

उहाँले मिडिया क्षेत्रको लामो त्याग र तपस्यापछि स्थापित अहिलेको व्यवस्था उत्कृष्ट व्यवस्था हुँदाहुँदै पनि देशको नेतृत्व गरेकाहरुबाट सही नेतृत्व हुन नसक्दा पछिल्लो समय निराशा बढ्दै गएको बताउनुभयो ।
देशमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको इतिहासको कालखण्ड भुलेर वर्तमानको बारेमा गलत ब्याख्या गर्ने काम अहिलेको पुस्ताबाट भईरहेको बताउँदै उहाँले उत्पन्न अफवाह चिर्ने काम मिडियाले मात्रै गर्न सक्ने बताउनुभयो  ।
यसैगरी, केन्द्रीय उपाध्यक्ष उदय जिएमले पत्रकार महासंघ संस्थागत रुपमा गर्नुपर्ने काममा प्रतिवद्ध रहेको बताउनुभयो । प्रेस काउन्सिल सदस्य शरद अधिकारीले दाङमा उत्पादित विज्ञापन दाङका मिडियाले पाउनुपर्ने विषयलाई सार्थक बनाउन महासंघले गम्भीर रुपमा छलफल चलाउनुपर्ने बताउनुभयो ।

सामाजिक संजाललाई नियमन गर्नका लागि सुचना विभाग, प्रेस काउन्सिल, विज्ञापन बोर्ड र दूर संचारले काम गर्ने बताउँदै पत्रकार आचार संहितामा हरेक क्षणमा पत्रकारले ख्याल गर्नुपर्ने बेला आएको उहाँको भनाई थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष तथा सल्लाहकार सुदीप गौतमले मुलुकको व्यवस्था प्रति बढ्दो बितृष्णा बढ्दै जानु दुखद रहेको बताउनुभयो । रेडियो मध्यपश्चिम संचालक समिति अध्यक्ष एवम् पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मधुसूदन वैद्यले मिडियाको अवस्था कमजोर बन्दै गएको धारणा राख्नुभयो ।

महासंघका निवर्तमान अध्यक्ष तथा जिल्ला सल्लाहकार सविन प्रियासनले नेपाली मिडिया इतिहासकै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । मिडियाकै बलमा वर्तमान व्यवस्थामा उभिएर काम गर्न पाएकाहरुले मिडियाको महत्वलाई बेवास्ता गरेर पन्छाउने काम गरिरहेको प्रति उहाँको आपत्ति थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकि उपप्रमुख स्यानी चौधरी, निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, जिल्ला प्रहरी कार्यालयल दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डे, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, एमनेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपीन बुढाथोकी, अकोराबका केन्द्रीय सदस्य संगीत बस्याल, प्रेस युनियनका केन्द्रीय उपमहासचिव बसुन्धरा गौतम, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका कार्यवाहक अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, समाजवादी प्रेस संगठन दाङका अध्यक्ष सूर्य बिसी, लीला शाह, जनमुक्ति पार्टीका ठाकुर रोका, जनमोर्चाका मनिराम खनाललगायतले बोल्नुभएको थियो ।

यसैबीच, दंगाली पत्रकारिताका धरोहरका रुपमा चिनिनु भएका स्वर्गीय खगराज लोहनीको सम्झनामा उहाँको परिवारले ३ लाखको अक्षयकोष स्थापना गरेको छ । पत्रकार महिलालाई पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्य सहित उहाँका छोरी माया लोहनीसहित परिवारले स्थापना अक्षयकोष स्थापना गर्नुभएको छ भने टीकाराम रेग्मीले पनि यसअघि स्थापना गर्नुभएको अक्षयकोषमा पचास हजार गर्नुभएको छ ।स्थापना दिवसको अवसरमा आयोजित रक्तदान गर्नेलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष सन्तोष सुवेदीले दिनुभएको थियो भने सहजीकरण सहसचिव दशरथ घिमिरेले गर्नुभएको थियो ।