अवैध बाटोबाट अमेरिका छिरी रहेको रुकुमका गाउँहरू

आभास बुढाथोकी

दाङ,  मंसिर । छेउमै बग्छ मग्मा खोला । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँकी ७३ वर्षकी चन्द्रकली कुसारी घरमा धेरैजसो टोलाएर बस्छिन् । उमेरले बुढ्यौली जीवन विताइ रहेकी उनलाई अहिले आफ्नै गाउँ बिरानो लाग्न थालेको छ ।

चन्द्रकलीलाई गाउँ बिरानो लाग्ने कारण हो यो दुर्गम गाउँमा भित्रिएको ‘अमेरिका छिर्ने लहर ।’ गाउँ नै रित्तिँदै जान थालेपछि उनीभित्रको रिक्तता पनि बढ्दैछ । चन्द्रकली भन्छिन्, ‘गाउँका सबै अम्रिका जान थाले, हामी बुढाबुढी एक्लै हुने भयौं ।’

हुन पनि चन्द्रकलीका छोरा बुहारी मात्र हैन, भाइ बुहारी, भदैदेखि नातीसम्म अमेरिका छिरेका छन् । सन्तानले लगे भने आफू पनि जाने सोचमा छिन् यी ७३ वर्षीया वृद्ध । उनी भन्छिन्, ‘छोराले लान्छु भनेको छ, लगे उतै जान्छु ।’

चन्द्रकलीलाई जस्तै जीवनको उत्तराद्र्धमा आफ्नो थातथलो छोडेर हिँड्नु पर्ने बाध्यता आइलाग्छ कि भन्ने लाग्छ बाकी गाउँकै ७८ वर्षका दर्बे र ७० वर्षकी घान्ते कुसारीलाई पनि । किनकी तीन वर्ष अघि ९० लाख रुपैयाँ तिरेर गैरकानुनी बाटोबाट अमेरिका छिरेका उनका छोरा लोकेस कुरासीले ‘चाँडै बुबा आमालाई पनि लैजाने’ भनेका छन् ।

‘दुःखले बनाएको घर गृहस्थी छोड्न मन कसलाई होला र ?’ दर्बे कुसारी भन्छन्, ‘गाउँ नै रित्तिन लागि सक्यो, मरेपछि घाट लैजाने मान्छे पनि नहुने भएपछि बुढाबुढी मात्रै यहाँ कसरी बस्ने र र ?’

रुकुम पश्चिमको तत्कालीन मग्मा गाविसका गाउँमा अमेरिका छिर्ने सपना चर्को छ । गाउँमा अमेरिका नगएको प्रायः कुनै घर छैन । युवा गाउँमा भेटिँदैनन् । बचेका केही पनि अमेरिका जाने तर्खरमा छन् । स्थानीयका भनाइमा अझ धेरै जसो अमेरिका जान हिँडेर बाटोमै छन् ।

रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँकी ७३ वर्षीया चन्द्रकली कुसारी ।

यसरी गाउँ छि¥यो अमेरिकी सपना

नयाँ संविधानले साविकको रुकुमलाई पूर्व र पश्चिममा विभाजन गरेपछि यी दुई जिल्ला लुम्बिनी र कर्णाली गरेर दुई प्रदेशमा बाँडिएका छन् । सम्भवतः यस भेगबाट धेरै व्यक्ति अमेरिका जाने जिल्लामा साविकको रुकुम जिल्लाको नाम आउँछ ।

त्यसमा पनि हालको पश्चिम रुकुमस्थित मग्मा गाविसका गाउँहरुबाट सबैभन्दा धेरै व्यक्ति अमेरिका गएका छन् । हाल यी गाउँहरु बाफिकोट गाउँपालिका वडा नं। ६, ७ र आठविसकोट नगरपालिको वडा नं। १० मा गाभिएका छन् ।

मग्मा गाविसका स्याला, बाकी, मग्मा, डाब, गोडेकाडा, नदुवा, घारीखोला गाउँमा गरेर ५ सय ३८ घरधुरी छन् । यीमध्ये कति घरबाट कति जना अमेरिका गएका छन् भन्ने यकिन तथ्यांक निकाल्न सम्भव भएन ।

यस बारेमा हामीले बाफिकोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनोजकुमार अधिकारी र ७ का नरबहादुर खत्रीसँग सम्पर्क ग¥यौं । उनीहरुका भनाइमा, यी गाउँहरुबाट मात्रै ३ सय भन्दा बढी व्यक्ति अमेरिका छिरेका छन् ।

स्थानीयका भनाइमा, गाउँमा गैरकानुनी बाटो हुँदै कोही न कोही अमेरिका नगएका घर भेट्न मुस्किल पर्छ । यी घरहरुबाट १ देखि ४ जनासम्म अमेरिका छिरेका छन् । कतै त परिवार नै अमेरिका जान हिँडेको पनि भेटियो ।

भूगोलका हिसाबले दुर्गम मग्मा, बाकी, स्याला, डाब र गोडेकाडा गाउँमा अमेरिकी सपना कसरी छि¥यो भन्ने बुझ्न एक दशक पछाडि फर्किनुपर्छ ।

०६२ सालको शान्ति सम्झौता हुनुअघिदेखि नै रुकुमबाट फाटफुट अमेरिका जाने क्रम सुरु भइसकेको थियो । स्थानीयका भनाइमा, त्यसबेला ‘द्वन्द्वले विस्थापित गरेको’ भन्दै अमेरिका पुगेकाहरुले धमाधम ‘ग्रिनकार्ड’ पनि पाए ।

१० वर्षअघि तत्कालीन मग्मा गाविसको बाकी गाउँँका बिर्खबहादुर खत्री गाउँको आधारभूत विद्यालय अनु प्राविमा पढाउँथे ।

बिर्खबहादुरकै काका नाता पर्ने हाल बाफिकोट गाउँपालिका–५, लेखाबागंका निशान पुन ‘द्वन्द्वले विस्थापित गरेको’ भन्दै ६० को दशकमै गैरकानुनी बाटोबाट अमेरिका पुगिसकेका थिए । उनकै सम्पर्कबाट बिर्खबहादुर १० वर्षअघि अमेरिका छिरे । यो गाउँबाट अमेरिका जाने बिर्खबहादुर पहिलो व्यक्ति भए ।

‘बिर्खबहादुर गएपछि यहाँबाट अमेरिका जाने क्रम सुरु भयो’, बाफिकोट गाउँपालिका ६ का वडा अध्यक्ष मनोजकुमार अधिकारी भन्छन्, ‘महिनामै ५ देखि ६ लाखसम्म कमाई हुने भनेपछि युवाहरुमा ‘अमेरिका सपना’ पस्यो । एकपछि अर्को गर्दै उनीहरु अमेरिका छिर्ने उपायको खोजीमा लागे ।’

बिस्तारै बिर्खबहादुरका भाइहरु विजय र हरे खत्री त्यही बाटो भएर अमेरिका छिरे । त्यसपछि बिर्खबहादुरको बुबा खिमबहादुर र आमा अमृता खत्री पनि थातथलो छोडेर अमेरिका गए । अहिले उनीहरुको घरको गेटमा ताला झुण्डिएको छ ।

स्थानीयका भनाइमा, तत्कालीनमग्मा गाविसका गाउँहरुबाट सबैभन्दा धेरै व्यक्ति अमेरिका गएका छन् । त्यसपछि स्याला र बाकीका गाउँहरुबाट धेरै गएका छन् । अनलाइनखबरकर्मी यी गाउँमा पुग्दा त्यहाँ अमेरिका नछिरेको घर नै भेट्न मुस्किल प¥यो । हरेक जसो घरबाट कोही न कोही अमेरिका छिरेकै भेटियो ।

रुकुमको बाकी गाउँमा १३ घरधुरी छन् । गाउँका दुई बाहेक सबैघरबाट गैरकानुनी बाटो भएर कोही न कोही अमेरिका छिरेका छन् । नगएकाहरु पनि ढिलो चाँडो छिर्ने आशामा छन् । लाग्छ सिंगो गाउँ नै अमेरिका हिड्ने तरखरमा छ ।

बाकीसँगै जोडिएको छ, स्याला गाउँ । त्यहाँ जम्मा १०० बढी घरधुरी छन् । तीमध्ये ८० प्रतिशतका घरबाट अमेरिका गएको गाउँकै अनु प्राविका शिक्षक बलबहादुर खत्री बताउँछन् । गाउँनै रित्तो हुन लागेको चिन्तामा थिए उनी ।

‘स्कुल पढ्दै गरेका विद्यार्थी पनि अमेरिका हिँडेका छन्’, खत्रीले भने, ‘विडम्बना के छ भने पढाउँदै गरेका शिक्षकहरु स्थायी जागिर छोडेर दलाललाई लाखौं बुझाएर अमेरिका हानिएका छन् ।’

त्यसो त शिक्षक खत्रीले पनि आफ्नो छोरालाई अमेरिका पठाएका छन् । ‘गाउँमा रोजगारी छैन, यहाँको पढाइले राम्रो जागिर पाउँदैनन्, पाइहाले पनि खान लाउन पुग्दैन’, उनले भने, ‘थोरबहुत कमाई रहेका पनि धेरै कमाइ हुने लोभमा त्यता जान मरिहत्ते गरिरहेका छन् ।’

 

गाउँका युवाहरुमा अमेरिका छिर्ने हुटहुटी छ । भर्खर १८ वर्ष पुगेका किशोरकिशोरी समेत गैरकानुनी बाटो भएर अमेरिका छिर्न हिँडेपछि वडाध्यक्ष अधिकारी अचम्ममा परेका छन् ।

कलिलो उमेरमै अमेरिका गएका मध्ये एक हुन्, बाकी गाउँका १९ वर्षीय गोपाल खत्री । उनी गत असोजमा घरदेखि अमेरिका छिर्न हिँडेका छन् । ८० लाख रुपैयाँ बढी खर्चिएका उनी अहिले बाटोमै छन् । नौ कक्षा पास गरेपछि गाउँका अरु युवा जस्तै उनी पनि त्यता हानिएका हुन् ।

कलिलो उमेरमा जोखिम मोलेर अमेरिका छिर्न खोज्ने गोपाल एक्ला होइनन् । मग्मा गाउँकै २२ वर्षीय नविन कुसारी पनि दलाललाई ८५ लाख रुपैयाँ बुझाएर ११ पुस २०७८ मा अमेरिका हिँडेका थिए । सुरुमा ३५ लाखमा पठाउँछु भनेका दलाल पैसा खाएर फरार भए । त्यसपछि फेरि अर्को दलाल समातेर ५० लाख बुझाएर हिँडे । दुई वर्षपछि गएको भदौमा मात्रै उनी अमेरिका पुगे ।

वडाध्यक्ष मनोजकुमार अधिकारीका शब्दमा ‘गाउँमा अमेरिका छिर्ने प्रतिष्पर्धा नै चलेको’ छ । ‘एउटा घरको गएपछि, अर्को घरकाले पनि आफ्नो सन्तान पठाइरहेका छन्’, उनले भने, ‘यो गाउँका मानिस जसरी हुन्छ अमेरिका पुग्न चाहन्छन् ।’

अमेरिका पुगेका आफ्नै साथी, सहकर्मीले राम्रो कमाएको देखेरसुनेपछि सरकारी जागिर समेत छोडेर हिँड्ने समेत छन् । वडाध्यक्ष अधिकारीका अनुसार, गाउँका पढे लेखेका युवा, शिक्षक, प्रहरी, सेना र सरकारी कर्मचारी पनि यो बाटोमा छन् ।

उनले थाहा पाएअनुसार गाउँपालिकाबाट हालसम्म स्थायी र अस्थायी गरेर २२ शिक्षक, ११ प्रहरी र ४ जना सैनिक समेत अमेरिकातर्फ हिँडेका छन् । ‘बाँकी पनि पैसा नभएर हो, हुने हो भने सिंगो गाउँ नै अमेरिका हिँड्ने अवस्था छ,’ उनले भने ।

अनलाइनखबरकर्मी यी गाउँहरुमा पुग्दा गाउँ सुनसान थिए, युवा देखिएनन् । संयोगले वाफिकोट गाउँपालिका वडा नं। ७ को गोडेकाडामा एक युवा भेटिए । उनी गाउँकै अहेब प्रेम खत्री रहेछन् । उनले गाउँका युवाहरुमा कसरी अमेरिका जाने मनोविज्ञान बन्यो भनेर उदाहरणसहित सुनाए ।

०६२ सालको शान्ति सम्झौता हुनुअघिदेखि नै रुकुमबाट फाटफुट अमेरिका जाने क्रम सुरु भइसकेको थियो । स्थानीयका भनाइमा, त्यसबेला ‘द्वन्द्वले विस्थापित गरेको’ भन्दै अमेरिका पुगेकाहरुले धमाधम ‘ग्रिनकार्ड’ पनि पाए ।
खत्रीका अनुसार, दुई वर्षअघिसम्म गाउँमा उनीसँगै हिँड्ने, खेल्ने ९ जना साथी थिए । ती सबै अहिले अमेरिका पुगिसके । उनी भन्छन्, ‘मसँगैका सबैजसो साथी गइसके, नगएको म एक्लो हो भने पनि हुन्छ ।’

चितवनमा अहेब पढेका उनी अहिले गाउँमै स्वास्थ्यर्मी छन् । गाउँपालिकाले सञ्चालन गरेको गाउँघर क्लीनिकमा काम गर्छन् र गाउँमै आफ्नो मेडिकल पसल पनि चलाउँछन् । गाउँमा महिनामा ३० देखि ३५ हजार कमाइ भइरहेको उनको भनाइ छ ।

तर उनले पनि यत्तिमा चित्त बुझाएका छैनन् । अरु साथीहरु झैँ उनी पनि अमेरिका छिर्ने सोचाइमा छन् । ‘सँगैका सबै साथी उहाँ छन्’, उनले भने, ‘उनीहरु महिनामा ३ देखि ६ लाखसम्म कमाएर घर पठाउँछन् । यहाँको कमाई खान लाउनमै ठिक्क हुन्छ । अनि कसरी गाउँमा बस्न मन लाग्छ रु’

 

अमेरिका छिरेका १८ घरमा पुग्दा, हामीले के भेट्यौं भने सामान्य खेती किसानी गर्ने परिवारले समेत करिब एक करोड खर्च गरेर सन्तान पठाएका छन् । खेती गर्न पर्याप्त जमिन समेत नभएका दुर्गम गाउँका यी अभिभावकहरु आफ्ना सन्तान अमेरिका पठाउन करोड बढी खर्चिन तयार छन् ।

यसको स्रोत के हो र यो जुटाउन कसरी सम्भव छ रु अनि, गैर कानुनी बाटोबाट जाने हो भन्ने गाउँका धेरैलाई थाहा छ । यसो हुँदा यो प्रबन्ध गर्ने दलालहरु को हुन् रु गैरकानुनी बाटो भनेको कहाँ हुँदै, कसरी जाने हो रु यसमा कति जोखिम छ रु

यी प्रश्नहरुको जवाफ पाउन हामीले केही घरका मुलीहरुसँग कुरा ग¥यौं । धेरैलाई गैरकानुनी बाटो हुँदै जाने हो भन्नेबाहेक अरु थाहा छैन ।

दलालहरुले मुख्यतः यसअघि गएकाहरुमार्फत कुरा मिलाउने भएकाले गाउँमा दलाल को हो भन्ने पनि धेरैलाई थाहा हुँदैन । यति मात्र थाहा छ ८५ लाख देखि १ करोड रुपैयाँ खर्च ग¥यो भने केही महिना लगाएर अमेरिका पुग्न सकिन्छ ।

यी प्रश्नहरु बोकेर हामीले स्थानीयलाई भेट्यौं । बाफिकोट गाउँपालिका–७ का ५७ वर्षीय पलसिंह पुन खेतीपाती गर्छन् । उनको आर्थिक हैसियत भनेको मुस्किलले खान लाउन पुग्ने मात्रै छ । तर, उनका दुवै छोरा अमेरिकामा छन् ।

यो कसरी सम्भव भयो रु पुनका भनाइमा, ७ वर्षअघि ५८ लाख रुपैयाँ खर्च गरेर उनका छोरा गोविन्द गैरकानुनी बाटो हुँदै अमेरिका पुगेका थिए । त्यसको ५ वर्षपछि २०७८ असोजमा ९५ लाख रुपैयाँ खर्च गरेर अर्का छोरा विनोद अमेरिका गए ।

दुईवटा छोरा पठाउँदा साँवा र ब्याज गरेर दुई करोड बढी खर्च गरेको उनले अनलाइनखबरलाई बताए । १ कात्तिक २०८० को बिहान आफनै घर छेउको खेतमा भेटिएका पलसिंह भन्छन्, ‘यत्रो पैसा हामीसँग हुँदैन, गाउँघर आफन्तीसँग धेरथोर माग्दै जुटाउने हो ।’

उनका भनाइमा उनले छरछिमेक, आफन्तीबाट ५० हजार, १ लाख, ५ लाख गर्दै जुटाएर दुई छोरा अमेरिका पठाएका हुन् ।

मग्मा बासतलाका ३५ वर्षीय शेरबहादुर खत्रीले आफ्नो २३ वर्षीय भाइ प्रेम खत्रीलाई ८३ लाख रुपैयाँ खर्चेर अमेरिका पठाए । घरबाट हिँडेको १६ महिनापछि २०८० असोजमा प्रेम अमेरिका पुगेका छन् । यत्रो रकम कसरी जुटाउनु भयो भन्ने प्रश्नमा उनले पनि पलसिंहको जस्तै जवाफ दोहो¥याए, ‘छिमेकी, आफन्ती र साथीभाइसँग सापटी गरेर रकम जुटाएँ ।’

बाफिकोट गाउँपालिका–७ का वडाध्यक्ष नरबहादुर खत्रीका अनुसार, दुर्गमका गाउँमा ठूलो रकम बुझाएर अमेरिका पठाउने हैसियत कसैसँग छैन । उनीहरु आफन्ती छरछिमेक र यसअघि अमेरिका गएकाहरुसँग ३३ प्रतिशतसम्म ब्याजदरमा ऋण लिन्छन् र त्यो पैसा दलाललाई बुझाउँछन् ।

विडम्बना पढाउँदै गरेका शिक्षकहरु मात्र होइन, प्रहरी र सेना पनि स्थायी जागिर छोडेर अवैध बाटोबाट अमेरिका हानिएका छन् ।
वडाध्यक्ष खत्रीका भनाइमा, अमेरिका पठाउन चाहिने रकम अहिले दोब्बर महंगो भएको छ । ‘केही वर्षअघिसम्म प्रतिव्यक्ति ३० देखि ५० लाख रुपैयाँसम्म भए हुन्थ्यो’ उनी भन्छन्, ‘अहिले यो रेट बढेर ८५ लाख रुपैयाँसम्म पुगेको सुनेको छु ।’

खत्रीले बुझे अनुसार, ‘पहिले पहिले हिँडाएर लुकिछिपी सिमा पार गराउँदै पठाउँदा ३० देखि ३५ लाख रुपैयाँसम्म लिन्थे । अहिले त ‘प्लेन टु प्लेन’ भनेर ८५ लाख रुपैयाँ माग्छन् ।’

अमेरिका जाने लहरले गाउँभित्रै एकले अर्कोलाई महंगोमा ऋण सापटी दिने चलन पनि बढ्दो छ । यो ऋण सापटीको चक्करमा थुप्रै मानिसहरु मिटरब्याजको फन्दामा समेत परेका छन् । वडाध्यक्ष खत्रीका भनाइमा, ‘अमेरिका पुगेकाले केही पैसा पठाएको देखिए पनि चर्को ऋणमा फसेर धेरैको बिचल्ली पनि भएको छ ।’

अमेरिका जाने सपनाले ऋणमा फसेको एउटा उदाहरण हो– मग्माकै दिलबहादुर बाठाको परिवार । उनका छोराले अमेरिका जाने चक्करमा दुई पटक ऋण लिएर दलाललाई ६५ लाख रुपैयाँ बुझाएका थिए ।

उनले पहिलो दलाललाई ३० लाख रुपैयाँ बुझाए तर उसले पु¥याउन नसकेपछि बीचबाटै घर फर्किए । तर यत्तिकैमा उनी थामिएनन् । फेरि अर्को दलालको पछि लागे । थप ३५ लाख रुपैयाँ बुझाए ।

त्यसपछि मुश्किलले सात महिना लामो बाटो भएर दुई वर्षअघि उनी अमेरिका त पुगे । तर, १८ महिना हिरासत बसेर उनी ‘डिपोर्ट’मा परेका छन् । अहिले उनी घर न घाटका भएका छन् ।

उनको ६५ लाख रुपैयाँको ऋण साँवा ब्याज गरेर १ करोड रुपैयाँ नाघेको छ । साहुले ऋण चुक्ता गर्न ताकेता गरिरहेका छन् । समान्य खेती किसानी गर्ने उनको परिवारलाई अहिले यो ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । उनी भन्छन्, ‘अमेरिकी चक्करमा जीन्दगी नै बर्बाद भयो ।’

काज किरिया गर्नेसमेत गाउँमा भएनन्

रुकुम पश्चिमका यी गाउँमा देखिएको अमेरिका जाने होडबाजीले चर्को सामाजिक मुल्य समेत चुकाउनु परिरहेको छ । गाउँका घरमा धेरैजसो बुढाबुढी एक्लै छन् । युवा नभएपछि सामाजिक गतिविधि, रीतिरिवाज र संस्कार खलबलिन थालेको छ ।

मग्मा गाउँमा कस्तोसम्म अवस्था आयो भने एउटा घरका दुई वटा छोरा अमेरिका छिरेकाले उनीहरुका बाबुको काजकिरिया गरिदिने समेत कोही भएन ।

बाफिकोट गाउँपालिका वडा नं। ६ मग्माका कपिलदेव खनालको ९ साउन २०८० मा मृत्यु भयो । उनका दुईवटै छोरा सात वर्षअघि अमेरिका पुगेका थिए । बाबुको मृत्युपछि गाउँमा किरिया गरिदिने कोही भएनन् । पछि उनकै आफन्ती कमलजंग खनाल किरिया बसेर संस्कार पूरा गरिदिए ।

केही वर्षभित्र यो घटना ‘हरेक घरको साझा कथा हुने’ स्थानीय भरतबहादुर खत्री बताउँछन् । ‘अहिले नै गाउँमा युवा छैनन्’, उनले भने, ‘रीतिरिवाज, धर्म संस्कार गर्दा युवा नभेटिने अवस्था छ । बाबु आमाको किरिया गरिदिने मान्छे समेत नभएको गाउँ कस्तो भएको होला रु’

दुर्गम गाउँ छिरेको ‘अमेरिकी सपना’ ले चर्को सामाजिक मुल्य चुकाउनु परेको बताउँछन्, रुकुमका सामाजिक अगुवा मदन शाह । ‘गएका व्यक्तिको जीवन त केही बन्ला’, चिन्ता मिश्रित भावमा उनले भने, ‘तर दुर्गम गाउँ वस्तीले यसको चर्को मूल्य चुकाउनु परिरहेको छ ।’