कालाकाटे–गढवा सडक भत्काएपछि सास्ती, ठेकेदारलाई भने मस्ती

दिवाकर पोख्रेल

देउखुरी, मङ्सिर । कालाकाटे–गढवा सडकखण्डमा कालोपत्रेका लागि पुरानो कालोपत्रे उप्काएर त्यसै छाडिएपछि स्थानीय बासिन्दा र यात्रु सास्ती खेपिरहेका छन् । सडकको ढुङ्गा उछिट्टिएर आँगनसम्म आइपुग्छ । धुलो भान्सा कोठासम्म पुग्छ । गढवा–कालाकाटे सडकखण्डको छेउमा घर हुनेहरू अहिले झनै समस्यामा छन् । गढवा गाउँपालिका–१, कुलापानीका नवराज शर्माले सडकमा आवतजावत गर्नेदेखि स्थानीयलाई समस्या रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चाडपर्वको समयमा पनि सास्ती भोगियो, अहिले यहाँ कुलापानीमा वनभोज र भ्रमणमा आउनेलाई समेत दुर्घटनाको खतरा बढेको छ ।” कालाकाटेदेखि गढवासम्म र गढवादेखि राजपुरसम्मको करिब ४० किलोमिटर हुलाकी सडक कालोपत्रे गर्न सँगै ठेक्का लागेको थियो । गढवादेखि राजपुरसम्मको सडक कालोपत्रेको काम सकिए पनि कालाकाटेदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ । यो चार वर्षको अवधिमा जम्मा डेढ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।

द्ययिन एयकत ब्मद्ययिन एयकत ब्मद्ययिन एयकत ब्मसडक निर्माण कम्पनीले काम नगर्दा अहिले अलपत्र सडकबाट आवतजावत गर्न कठिन भएको छ । स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलो खानुपर्ने बाध्यता छ । हुलाकी सडक निर्माणको काम अलपत्र परेपछि समस्या चुलिँदै गएको हो । कालाकाटेदेखि गढवासम्मको २० किलोमिटर लामो सडक कालोपत्रे गर्नुपर्ने थियो तर ठेकेदारले काम नगर्दा सडक निर्माणको काम अलपत्र परेको बताइन्छ । यातायातका साधन चले पनि धुलो सडकको बिग्रँदो अवस्थाले गाडीधनी नै हैरानीमा छन् । गाडीधनी माधव पोख्रेलले गाडी र यात्रुलाई ओहोरदोहोर गराउनै समस्या रहेको बताउनुभयो ।

वज्रगुरु कान्छाराम जेभीले सडक कालोपत्रेको जिम्मा लिएको थियो तर अहिले यो निर्माण कम्पनीले बिचमै काम गर्न छाडेको छ । हुलाकी सडक आयोजना कार्यालयबाट हालसम्म गरेको कामको भुक्तानी लिए पनि बाँकी काम अघि बढाउन निर्माण कम्पनीसँग आर्थिक स्रोत नभएको दाबी गरिएको छ । काम सुरु गर्न निर्माण कम्पनीलाई आयोजना कार्यालयबाट दबाब दिए पनि काम अघि बढ्न सकेको छैन ।

आयोजना कार्यालयका अनुसार सडक निर्माणसँग जोडिएका कल्भर्ट, नाला निर्माणको काम सकिए पनि पिचको काम बाँकी छ । निर्माण कम्पनीले सरासर काम गर्ने हो भने चालु आर्थिक वर्षमा सम्पन्न गर्न सकिने आधार रहेको जनाइएको छ । ६५ करोडको लागतमा सडक कालोपत्रेको काम गर्ने गरी ठेक्का लागेको थियो । निर्माण कम्पनीलाई आयोजना कार्यालयबाट ताकिता गर्ने काम भइरहेको र काम सुरु गर्ने बारेमा लिखित कागजसमेत गराइएको इन्जिनियर सुनील गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार दुई वटा प्याकेजमा एउटा प्याकेज गढवा–राजपुरसम्मको पिचको काम सकिएको छ । कालाकाटे–गढवा सडकखण्डले प्रगति गर्ने देखिएको छैन । निर्माण कम्पनीले काम अघि बढाउने आर्थिक स्रोत नभएको भन्दै पन्छिन खोजेको छ । स्थानीय जनप्रतिनिधिले सडक अलपत्र परेको विषयमा सरकारका प्रवक्ता रेखा शर्माको समेत ध्यानाकर्षण गराइसकेका छन् ।

गढवा गाउँपालिका–५ का अध्यक्ष लेखबहादुर थापाले सार्वजनिक रूपमै अलपत्र हुलाकी सडकबारे सरकारलाई जानकारी गराएको बताउनुभयो । सडक निर्माण स्थलमा जग्गा विवाद केही ठाउँमा देखिएको छ । विवाद भएको ठाउँ छाडेर काम गर्ने गरी पहल भइरहेको हो । हुलाकी सडक आयोजनाको कामलाई तीव्रता दिन नागरिकले आग्रह गरेका छन् ।