घोराहीमा व्यवसायीक स्केटिङ पार्क खुल्यो

घोराही, २८ असोज । विश्वमै चर्चित खेलकारुपमा रहेको स्केटिङ अब दाङको घोराहीमा पनि व्यवसायीकरुपमा खेल्न पाइने भएको छ । घोराही–१५ शुक्रपथ टोलमा आइतबारबाट व्यवसायीकरुपमा स्केटिङ पार्क सञ्चालनमा आएको छ ।

घोराही स्केट पार्क नामले सञ्चालनमा आएको उक्त पार्कलाई दुईजना युवाहरु इश्वर थापा मगर र युरेन्द्र बुढा मगरले संयुक्तरुपमा खोल्नु भएको हो । करीब ८० लाखको लागतमा निर्माण भएको उक्त स्केट पार्कमा एकैसाथ ५० जना भन्दा बढि व्यक्तिहरुले स्केटिङ खेल्न सक्नेछन् । प्रति घण्टा २ सय रुपैयाँका दरले शुःल्क निर्धारण गरिएको र हप्ता देखि मासिकरुपमा खेल्नेलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ । विश्व बजारमै प्रख्यात खेलकारुपमा विकास भएको स्केटिङ दाङमा पहिलो पटक व्यवसायीकरुपमा सञ्चालनमा आएको हो ।

घोराही उपमहागरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेयले उक्त पार्कको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका पाण्डेयले युवाहरु विदेश पलायन भैरहेको समयमा व्यवसायीकरुपमा स्केटिङ खेललाई प्रोत्साहन गर्ने किसिमले पार्क सञ्चालन गरेर सञ्चालकहरुले नमूना कार्य गरेकोमा प्रशंशा गर्नुभएको थियो ।

सो अबसरमा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले स्केटिङ खेल युवाहरुमा अति नै लोकप्रिय भएकाले दाङमा पनि यसले राम्रो बजार लिने बताउनुभयो । युवा समाजसेवी प्रेम शर्माको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा शुक्रपथ टोल विकास संस्थाका पूर्व अध्यक्ष भुपेन्द्र सुवेदी, हरि बञ्जाडे, जनज्योति विद्यामिन्दरका पूर्व प्रिन्सिपल हिकमत थापालगायतकाले स्केटिङ पार्क सञ्चालन भएकोमा शुभकामना दिनुभएको थियो ।

उद्घाटन कार्यक्रमको सहजीकरण दिपक थापाले गर्नुभएको थियो । पहिलो दिन विहान १२ बजेसम्म इच्छुकहरुलाई निशुःल्करुपमा स्केटिङ खेल्ने व्यवस्था मिलाइएको थियो ।