दाङ, २७ असोज । नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले नेकपा एमालेको सम्पूर्ण ध्यान अब मिशन २०८४ मा केन्द्रीत हुने बताउनु भएको छ ।
नेकपा एमाले दाङको पूर्ण वैठकको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । वैठकको प्रमुख अतिथि समेत रहनु भएकी अर्यालले नेकपा एमालेले मिशन ८४ लाई सफल बनाउनकै लागि सबै तहको सांगठनिक संरचनामा जिम्मेवारी दिन लागिएको चर्चा गर्दै प्रदेश तहको अधिवेशन लगभग सकिएको र अब मंसिर भित्र देशका सबै जिल्लामा अधिवेशन हुने, त्यसपछि चैत्रसम्म पालिका र वडा तहसम्म नयाँ नेतृत्व आउने बताउनुभयो ।
पार्टीको सांगठनिक जीवनसँगै अन्य गतविधिहरु पनि साथसाथै अगाडी बढाउन निर्देशन दिँदै एमाले नेतृ अर्यालले लुम्बिनी प्रदेशमा अहिले पनि एमाले पहिलो शक्तिकारुपमा रहेको र भोलिका दिनमा यसलाई अझ बलियो बनाउने उद्घोष गर्नुभयो ।
दाङ जिल्ला राजनीतिक हिसाबले पनि महत्वपूर्ण जिल्ला भएको र एमालेको महासचिवलगायतका महत्वपूर्ण पदहरु दाङमै भएका कारण दाङ पार्टी अन्य जिल्लाको तुलनामा सबै दृष्टिकोणले अव्वल हुनुपर्ने नेता अर्याललको भनाइँ थियो । नेकपा एमालेले सञ्चालन गरेको ग्रासरुट अभियान सार्थक बनेको चर्चा गर्दै अबका अभियानहरु ग्रासरुट भन्दा पनि प्रभावकारी बनाउने सवालमा सबैले जिम्मेवारी बहन गर्न मातहतका नेता कार्यकर्ताहरुलाई सचिव अर्यालले निर्देशन दिनुभयो । सो अबसरमा नेकपा एमालेका पोलिटव्यवूरो सदस्यहरु नरुलाल चौधरी, शान्ता चौधरी, जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायतकाले बोल्नु भएको थियो ।
जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेयले स्वागत तथा सचिव मनोहर बुढाथोकीले वैठकको सहजीकरण गर्नु भएको थियो ।
वैठकले जिल्लाका सबै वठमा सिर्जनशील कार्यक्रम अन्तगर्त श्रमशिविरहरु सञ्चालन गर्ने, दशै, तिहार र छटपर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने, पार्टीको प्रदेश र केन्द्रले पठाएको अपानीलाई अबलम्बन गर्ने, जिल्ला अधिवेशनको सन्दर्भमा मिति तोक्न पदाधिकारीहरुलाई जिम्मेवारी दिनेलगायतका निर्णयहरु गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।