रामप्रसाद पोख्रेल,
अध्यक्ष, उमेदवार
दाङ जिल्ला उद्योग वाणिज्य संघ
तपाईंको उम्मेदवारी किन ?
– लामो समयदेखि यही क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएको र आफूले व्यवसाय गरेको वस्तुगत संघको विभिन्न तहमा रहेर नेतृत्व निर्वाह पनि गरेको छु । यसैलाई निरन्तरता दिंदै दाङ जिल्ला उद्योग वाणिज्य संघको एक कार्यकाल कार्यकारी सदस्यको जिम्मेवारी र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको छु । संस्थामा जोडिएपछि संस्थाको गरिमा, व्यवसायीको हकहित र यहाँको विकासका बारेमा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गरिसकेको हुँदा अब संस्थाको नेतृत्वमा रही अहिलेको संकटमा व्यवसायीको समस्या समाधान, व्यवसायीहरुको संस्थागत विकासका साथै यस क्षेत्रको विकासमा समेत महत्वपूर्ण निर्वाह गर्ने उद्देश्यका साथ मेरो उम्मेदवारी रहेको छ ।
तपाईंले नेतृत्व लिइरहँदा संस्थाको उन्न्यनका लागि तपाईले तर्जुमा गरेका योजना के हुन् ?
– जबसम्म व्यवसायीको साझा संस्थाको क्षमता विकास हुन सक्दैन तबसम्म व्यवसायीको विकास हुन कठिन हुन्छ र त्यस क्षेत्रको स्थानीय आर्थिक विकास हुन कठिन हुन्छ । त्यसैगरी जुन क्षेत्रत्रमा सबल र सक्षम सामाजिक संघ संस्था हुन सक्दैनन् त्यस क्षेत्रको विकासले समेत तीव्रता पाउन सक्दैन ।
त्यसैले मेरो भस्मिका संघलाई अझ बढी समाजमा स्थापित, सबैको भरोसायुक्त सामाजिक संस्थाको रुपमा स्थापित गर्ने रहने छ । सबै व्यवसायीहरुको अपनत्व हुने गरी संस्थालाई स्थापित गर्न तर्फ लाग्ने छु । साँच्चि नै व्यवसायीमैत्री संस्थाको रुपमा विकास गर्दै व्यवसायिक केन्द्रको बनाउने र यहाँका व्यवसायिक, सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरी अगाडि बढ्ने छु ।
आर्थिक मन्दीले थलिएका व्यवसायीका हकमा कस्ता योजना बनाउनुभएको छ ?
– दुई पटकको काभिडको असरले यतिबेला देश नै आर्थिक मन्दीको चपेटामा परेको छ । अझ त्यसमाथि व्यावसायिक क्षेत्र त अत्यन्त प्रभावित भएको अवस्था हो । राज्यका निकायहरु यसप्रति संवेदनशील भएको पाइदैन । यतिबेला व्यवसायीलाई व्यवसायमा टिकाउने खालका रणनीति अवलम्वन गर्न आवश्यक रहेको छ । जसका लागि राज्यका विभिन्न निकायसँग सहकार्य र परामर्श गरी समस्या समाधान गर्न सकिन्छ ।
नेतृत्वमा तपाईंलाई नै भोट किन ?
– संघका विभिन्न तहमा रहेर कार्य सम्पादन गरेको छु । जिम्मेवारीमा रहँदा नरहँदा सफलतापूर्वक कार्य सम्पन्न गरेको छु । अनुभवका आधारमा यस संघ र संघका सदस्यहरुको सुरक्षा र क्षमता विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकाले मतदाताहरुले मलाई मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।
तपाईको जितका आधार के छन् ?
– मैले मेरो उम्मेदवारीको पदमा जित्ने प्रशस्त आधार छन् । लामो समयदेखि संघको वस्तुगत संघ र दाङ जिल्ला उवासंघको विभिन्न पदीय दायित्वमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेको सबै व्यवसायीहरुले बुझिरहनुभएको छ । जिम्मेवारीमा रहँदा मैले आफ्नो काममा भन्दा पनि व्यवसायीका समस्यामा निरन्तर लागिरहे, संघको दिगो विकासमा आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेको छैन, यस क्षेत्रलाई व्यावसायिक केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार र स्थानीय आर्थिक विकासका लागि विशेष पहल गर्ने मेरो सोंच रहेको छ । व्यवसायिक सुरक्षा, विकास र एकता मेरो मूल मन्त्र हो । जसलाई आम व्यवसायीहरुले बुझ्नु भएको छ । जो मेरो जितका आधार हुन् ।
अन्त्यमा केही भन्नुछ ?
– अन्त्यमा पुनः गणतन्त्र दैनिकलाई धन्यवाद व्यक्त गर्दै साझा समावेशी व्यवसायी प्यानलको अध्यक्ष उम्मेदवार म रामप्रसाद पोख्रेलको नेतृत्वमा रहेको सम्पूर्ण टिमहरु विजयी बनाउन आम उद्योगी, व्यवसायी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।