छाता ओढेर उम्मेदवारहरु घरदैलो अभियानमा

भ्यूमान पुन
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा रामप्रसाद पोख्रेल नेतृत्वको साझा समावेशी व्यवसायीक प्यानलले घरदैलो अभियानलाई तीब्र बनाएको छ । प्यानलले गर्मी र झरीको कुनै प्रवाह नगरी व्यवसायीहरुसँगको घरदैलो अभियानलाई तीब्र बनाएको हो ।

यही असोज १३ गते हुन लागेको उवासंघको निर्वाचनलाई लक्षित गर्दै साझा प्यानलका उम्मेदवारहरु उद्योगी र व्यपारीहरुको घरदैलोमा गएर चुनाव प्रचारप्रसार अभियानलाई निरन्तरता दिएका छन् । उम्मेदवारहरुले दैनिक रुपमा व्यवसायीहरुसँग भेटघाट गर्दै आफ्नो साझा समावेशी व्यवसायीक प्यानलाई अमूल्य भोट दिएर विजयी गराउ अपिल समेत गरेका छन् ।

घरदैलो अभियानमा उनीहरुले व्यवसायीहरुको समस्याहरु बुझ्दै आफ्नो प्यानललाई विजयी भए ती समस्याहरुलाई पहिलो प्राथमिकता राखेर निराकरण गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो घोषणापत्र वितरण गरिहरेका छन् ।

पोखरेल प्यानल उनीहरुको समस्या टिप्दै भोट माग्दै हिडेका छन् । समस्या टिपेर राखेपछि आफू नेतृत्वमा गएपछि समाधान गर्नका लागि सहज हुने उद्योग उपाध्यक्षका आकांक्षी राजभक्त राणा बताउँछन् । ‘हामी अहिले भोट माग्न भन्दा पनि भेटघाट र समस्या टिप्न हिडेका छौं,’ उनले भने, ‘अहिले समस्या र गुनासा सुनेपछि पछि नेतृत्वमा गएपछि हामीलाई काम गर्न सहज हुन्छ । आशा छ काम गर्छु भनेर यसरी हिंडेको प्यानललाई मतदाताहरुले विश्वास गर्नुहुनेछ ।’

सोमबार बिहानैदेखि सुरु भएको घरदैलो कार्यक्रम पुरानो बसपार्क, लखन पार्क, बाल मन्दिर चोक, आर्मी बायरेक, लगायत घोराही १४– को विभिन्न स्थानमा पुगेको थियो ।

प्यानलका पदाधिकारीका आकांक्षीको हातमा डायरी छुट्दैनन् । व्यावसायीले सुनाएका समस्या र गुनासा टिपिहाल्छन् । उद्योगी व्यावसायीहले घरभाडा, बैंकको ब्याज लगायत समस्या सुनाएका थिए । घरदैलोका क्रममा समस्या सुनाउने मात्र होइन टिमलाई राम्रो भन्नहरु पनि भेटिएका छन् । स्वर्गद्वारी होटलका सञ्चालक शेरबहादुर पुनले युवा र मिश्रित टिम बनेकाले अवसर पाए काम गरेर देखाउने विश्वास व्यक्त गरे ।