दाङ उद्योग वाणिज्य संघमा महिला सहभागिताको आवश्यकता

देबकला बस्नेत
( महिला सदस्य, उमेदवार )
दाङ जिल्ला उद्योग वाणिज्य संघ
दाङ जिल्ला उद्योग वाणिज्य संघ जिल्लाकै सबै भन्दा जेठो र अगुवा संस्था हो । व्यवसायीक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले यो गठन भएको भएपनि यसले समाजमा हुने सबै खाले गतिविधिमा अगुवाई गर्दै आएको छ । जसले गर्दा दाङ उवासंघले यस क्षेत्रमा भए गरेका धेरै महत्वपूर्ण कार्यको अगुवाई गरेको छ ।

दाङ उवासंघको अगुवाईमा जिल्लालाई प्रादेशिक राजधानी बनाउन नेतृत्व गरिएको छ । जसको फलस्वरुप हामीले देउखुरी उपत्यकामा राजधानी निर्माण गर्न सफल भयौ । यसैगरी उवासंघको अगुवाईमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन देखि हालसम्मको अवस्थामा ल्याइएको छ । यसको साथै उवासंघको अगुवाईमा यहाँ भएका अन्य विकाससँग सम्बन्धित कार्यहरुको पनि अगुवाई भएको छ । उवासंघकै अगुवाईमा हाल राती ११ बजेसम्म बजार खोल्न सक्ने अवस्था बनेको छ । समग्रमा भन्नु पर्दा उवासंघले यस क्षेत्रको अगुवाई गरेको छ ।

म करीव ढेड दशक देखि व्यवसायीक क्षेत्रमा आबद्ध छु । विभिन्न पेशा व्यवसायमा सहभागिता भएर काम गर्नेक्रममा यहाँका सबै अग्रजहरुको शुभेच्छाले मलाई हालको कार्य समितिको महिला सदस्यमा काम गर्ने मौका मिल्यो । उवासंघको आन्तरिक जीवनसँग म पहिला साक्षात्कार थिइन । जब म यसको कार्य समितिमा आए त्यसपछि उवासंघका हरेक गतिविधिहरुसँग म नजिक हुने मौका मिल्यो । दाङ उवासंघको सांगठनिक जीवन लामो छ । तर दुःखका साथ भन्नु पर्छ, अहिले पनि उवासंघको सांगठनिक जीवनभित्र महिला दिदीबहिनीहरुको अवस्था चिन्ता जनक छ । मतदाताको हिसाबले भन्नु पर्दा ठूलो संख्या ओगटेको महिला व्यवसायीहरु अहिले पनि उवासंघको कार्य समितिमा उच्च पदमा  पुग्न सकेका छैनन् । यो भन्दैमा अन्य पदमा पुरुषहरु आउनु हुँदैन भनेको होइन । राज्य नै समान सहभागिताको पक्षमा छ । अहिले सबै क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरिएको छ । नेपालको संविधानले समेत यो कुरालाई सुनिश्चित गरेको छ । राज्यले यस प्रकारको कानून बनाउनुको पछाडी पनि नेपालमा जन्मिने सबै वर्ग र समुदाय राज्यका सबै क्षेत्रमा समान सहभागिता हुन सक्यो भने मात्र हाम्रो मुलुक विकसित हुन सक्छ भन्ने हो । यस अर्थमा दाङ जिल्ला उद्योग वाणिज्य संघले यस क्षेत्रको अगुवाई गरिरहँदा संघभित्र अनिवार्यरुपमा महिला सहभागिता राम्रो अवस्थामा हुनुपर्छ । यतिबेला हामीहरु साधारणसभा अनि अनिवेशनको संघारमा छौ, साधारणसभाबाट केही सुधारका कार्यहरु गर्न जरुरी छ । विधानमा नै महिलाहरुको पदाधिकारीमा अनिवार्य सहभागिता हुने किसिमको बाध्यकारी कानूनी मान्यता समावेश गर्नुपर्छ ।

यसको साथै सदस्यहरुको संख्या पनि अनिवार्यरुपमा बढ्ने गरी विधानमा व्यवस्था हुनुपर्छ । महिला सहभागिताको सुनिश्चितताले भोलिका दिनमा उवासंघको कुशल नेतृत्वमा पुग्न सक्ने क्षमता विकास महिलाले गर्न सक्छन् । उवासंघमा हालसम्म माथिल्लो पदमा महिलाहरुको उपस्थिति हुन नसक्नुको पछाडी पनि यी र यावत कुराहरुले काम गरको छ । बजारमा अहिले पनि महिला दिदी बहिनीहरुले राम्रोसँग उद्योग देखि सबै खाले पसलहरु  सञ्चालन गरिरहनु भएको छ । मतदाताको हिसाबमा पनि महिला वर्गको प्रतिनिधित्व अव्वल छ । तर सांगठनिक जीवनमा महिलाको उपस्थिति चिन्ताजनक हुनु दुःखको कुरा हो । उवासंघ जिल्लाकै अगुवा संस्था भएकाले यसले सबैको नेतृत्व गर्न सक्ने सांगठनिक अवस्था सिर्जना गर्नुपर्छ । महिला सदस्यका रुपमा उवासंघमा काम गर्दा एकलो महिला  सहभागिता भएका कारण कतिपय अवस्थामा आफूलाई एकलो महसुस गर्नुपरेको छ । विगतमा पनि संघमा रहनु भएका महिला पदाधिकारी अनि महिला सदस्यहरुलाई यी र यस्ता अफ्ठेराहरु भए होलान् । कम्तिमा पनि ३३ प्रतिशत महिला  सहभागिता संघमा  हुन  सक्यो भने जिल्लामा महिला उद्यमी, महिला व्यवसायीहरुको पिरमर्का बुझ्ने देखि उनीहरुको संख्या बढाउने सवालमा पनि उवासंघले भूमिका खेल्न सक्छ ।

अन्तमा महिला सदस्यकारुपमा अहिलेसम्म काम गर्दा सबै क्षेत्रले मलाई साथसहयोग गर्नु भएको छ । म सबैमा हार्दिक नमन गर्न चाहन्छु । पूर्व अध्यक्ष, पदाधिकारीहरु, सम्पूर्ण व्यवसायीहरु, वर्तमान कार्य  समिति सबैप्रति कृतज्ञता जाहेर गर्न चाहन्छु ।