उद्योग सदस्यका उमेदवार सन्तोष नेपालीको श्रमिक हुँदै उद्योग सञ्चालकसम्मको यात्रा


घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघ जिल्लाकै जेठो अनि अभिभावक संस्था हो । यसले व्यवसायीक हकहितको सवालमा काम गर्ने देखि जिल्लाको सबै जसो क्षेत्रसँग समन्वय गरेर यहाँका सामाजिक गतिविधि, विकास, समृद्धिलगायतका कार्यमा बलियो सहकार्य गर्दै आएको छ । संस्था यहाँ सम्म आउन थुप्रै अग्रज एवं समकक्षिहरुको साथसहयोगले ठूलो भूमिका खेलेको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघलाई संस्थागत विकासका लागि कार्य समितिको महत्वपूर्ण भूमिका रहन्छ । यसमा पनि उद्योगसँग सम्बन्धित पदाधिकारी एवं सदस्यहरुको पनि संस्था अनि जिल्लाकै समृद्धि, विकासको सवालमा धेरैनै महत्व छ । उवासंघले संस्थाको कामलाई विभाजन गर्न अनि सम्बन्धित क्षेत्रसँग समन्वय गर्नका लागि सांगठनिक संरचनामा महत्वका साथ उद्योग उपाध्यक्ष एवं उद्योग सदस्य पद छुट्टाएको छ । यतिबेला दाङ जिल्ला उवासंघ निर्वाचनको चटारोमा छ । यही २०८० असोज १३ गते हुन लागि रहेको निर्वाचनमा होमिनु भएका सन्तोष नेपाली उद्योग सदस्य पदमा निर्वाचनमा भिँड्दै हुनुहुन्छ ।
दुईदशक देखि व्यवसायीक क्षेत्रमा सक्रिय सन्तोष नेपालीको जन्म २०४० फागुण १७ गते भएको हो । आमा विमला दमाई अनि बुबा दुर्गाबहादुर दमाईको जेठो छोराकारुपमा जन्मनु भएका नेपालीको लक्ष्मी नेपालीसँग वैवाहिक लगन गाँठो कसिएपछि छोरीहरु सुस्मिता नेपाली, सुवास्ना नेपाली, छोरा शुभम नेपालीको जन्म भयो । अविवाहित हुँदा होस् वा विवाह पछि उहाँलाई काम गर्ने सवालमा घरपरिवारले सधैभरी साथसहयोग गरिरह्यो । जसका कारण १५ वर्षसम्म अर्काको पसल अनि उद्योगमा ट्रेलरिङको काम गरेर जीवन यापन गर्दै आउनुभएका सन्तोषले विगत सात वर्षदेखि घोराहीमा दर्मियल सर्टिङ सुटिङ टे«लरिङ खोलेर उद्योगकै रुपमा यसलाई विकास गर्नु भएको छ ।
घोराही–१८ अम्बापुरमा बसोबास गर्दै आउनु भएका सन्तोषको ट्रेलरिङमा हाल ११ जना कर्मचारी रहेका छन् । कोभिड भन्दा पहिले दुईदर्जन जति कर्मचारी रहेकोमा हाल आर्थिक मन्दिका कारण कर्मचारीको संख्या घटेको हो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघको दाङको जिल्ला उपाध्यक्ष समेत रहनु भएका सन्तोषलाई संघका अध्यक्ष पदम नेपालीसहितको कार्य समितिले सर्वसम्मतरुपमा दाङ उवासंघको उमेदवार बनाउन संस्थाको तर्फबाट सिफारिस गरेको हो । शालिन युवा व्यवसायी रामप्रसाद पोख्रेलको नेतृत्वमा निर्माण भएको साझा, समावेशी व्यवसायीक प्यानलबाट उद्योग सदस्यमा उमेदवारी दिनु भएका सन्तोषले साना तथा मझौला लगानीबाट खोलिएका उद्योग, व्यवायले भोग्नु परिरहेको समस्यालाई निराकरण गर्ने सोँच एवं योजनासहित आफू निर्वाचनमा होमिएको बताउनुहुन्छ । अहिले पनि कोभिड लगायत विभिन्न कारणले देखा परेको समस्याले गर्दा दिनदिनै व्यवसायीक क्षेत्रमा संकट उत्पन्न भैरहेको र यसबाट पार पाउनका लागि राज्यले ठोस नीति, कार्यक्रम बनाउन आवश्यक रहेको उद्योग सदस्य पदका उमेदवार सन्तोष नेपालीको भनाइँ छ ।
मुलुकको अर्थतन्त्रको विकासका लागि जिल्लामा प्रशस्त लगानी भित्रिनुपर्ने, लगानी गर्नुपर्ने धारणा राख्ने सन्तोष भन्नु हुन्छ, ‘म ठूला तथा साना लगानीका उद्योग, व्यवसायहरुलाई जिल्लामा कसरी स्थापित गर्न सकिन्छ भन्ने सोँचसहित उमेदवार बनेको हुँ । श्रमिक देखि उद्योग सञ्चालकसम्मको अनुभव भएका कारण मलाई विश्वास छ, म उद्योग सदस्य निर्वाचित भएमा साना तथा ठूला उद्योग, कलकारखाना, व्यवसाय सञ्चालनका लागि काम गर्नेछु ।’