पूर्वमन्त्री थारूद्वारा संविधान दिवसको शुभकामना

शिवु खनाल
देउखुरी, ३ असोज
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासका पूर्वमन्त्री इन्द्रजीत थारूले संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले समृद्ध प्रदेश र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य सर्त भएको बताउनुभयो । संविधान दिवस–२०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान पालनमा केही चुनौतीहरू देखापरे पनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था रहेको बताउनुभयो ।

पूर्वमन्त्री थारूले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढी र समतामूलक समाजसहितको समाजवाद उन्मुख समृद्ध प्रदेश निर्माणका लागि सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गर्नुभएको छ ।

सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै सुनौलो दिन भएको उल्लेख गर्दै उहाँले आजको दिन प्राप्त गर्न भएका विभिन्न कालखण्डका जनआन्दोलन, जनयुद्ध र २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । सङ्घर्षका घाइते अपाङ्ग योद्धाहरूप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

‘यो ऐतिहासक दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दै आफ्नो अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपील गर्दछु’ उहाँले भन्नुभयो,–। ‘बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्थालगायत नेपाली जनताको अधिकारलाई संविधानले संस्थागत गरेको छ ।’