दाङ, भदौ । सिमेन्ट उद्योगका चुनढुंगा बोक्ने टिप्परहरुबाट प्रतिटिप्पर एक सय रुपैयाँ शुल्क लिन लागिएको छ ।
दाङको बंगलाचुली गाउँपालिकामा चल्ने हरेक टिप्परबाट प्रतिटिप्पर एक सय रुपैयाँ शुल्क लिने गाउँसभाले कानुन नै पारित गरेको थियो । सोही कानुनलाई कार्यान्वयन गर्नेगरी गाउँपालिकाले असोज महिनादेखि बंगलाचुलीमा रहेका सिमेन्ट उद्योगका चुनढुंगा बोक्ने टिप्परहरुबाट तोकिएको शुल्क लिने जानकारी गराएको छ ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा टिप्पर व्यवसायीहरुलाई यो जानकारी गराइएको थियो । गाउँपालिकाले असोज महिनादेखि कार्यान्वयन गर्नेगरी टिप्पर व्यवसायीहरुबाट शुल्क लिने भएकोले सोही बमोजिम गर्न व्यवसायी समितिहरुलाई पूर्व जानकारी गराएको हो ।
गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले जिल्लामा रहेका स्वर्गद्वारी टिप्पर यातायात व्यवसायी प्रा. लि. र सगरमाथा टिप्पर यातायात व्यवसायी प्रालिका पदाधिकारी, घोराही सिमेन्ट उद्योग लिमिटेड, सोनापुर सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगका प्रतिनिधिहरु सम्मिलित बैठकमा गाउँपालिकाको गाउँसभाले पारित गरेको नियमलाई कार्यान्वयन गर्ने जानकारी गराउनुभएको छ ।
यसैगरी बंगलाचुली गाउँपालिकालाई सिमेन्ट उद्योगले रोयल्टीसँगै यसअघि दिदै आएको थप शुल्कको विषयमा पनि अर्काे बैठकमा छलफल गरी निर्णय गरिने भएको छ ।
बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा बसेको बैठकमा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद आचार्य, वडा नं. ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, ४ का अध्यक्ष डासबहादुर डाँगी, स्वर्गद्वारी टिप्पर यातायात व्यवसायी प्रा. लि, सगरमाथा टिप्पर यातायात व्यवसायी प्रा. लि., घोराही सिमेन्ट उद्योग लिमिटेड, सोनापुर सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगका प्रतिनिधिहरुको सहभागिता थियो ।
बैठकमा सहभागी टिप्पर व्यवसायीहरुले स्थानीय सरकारले गरेको निर्णयलाई आफूहरु मान्न तयार रहेको तर अहिलेको आर्थिक मन्दीको अवस्थामा व्यवसायीहरुले सो रकम दिन कठिनाइ हुने प्रतिक्रिया दिएका थिए । साथै उनीहरुले टिप्परधनीहरुलाई सो कानुनको विषयमा अवगत गराई थप निर्णय लिने बताएका छन् ।