वरिष्ठ उपाध्यक्ष कार्कीद्वारा स्वतन्त्र व्यवसायीक प्यानल बनाउने घोषणा

दाङ, २९ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुने निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले स्वतन्त्र व्यवसायीक टिम बनाएर निर्वाचनमा भिँड्ने घोषणा गर्नु भएको छ । शुक्रबार साँझ संघकै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो टिम बनाउने घोषणा गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कार्कीले आफू बस्तुगत समितिहरु, कार्यसमिति सदस्य, महासचिव, वरिष्ठ उपाध्यक्ष भएर संस्थाको हित र सम्पूर्ण व्यवसायीहरुको हितमा काम गरेको जानकारी दिनुभयो । पैशाको चलखेलकै कारण सर्वसाधारणले अध्यक्षको टिकट पाउन नसक्ने अवस्था सिर्जना भएकाले आफू स्वतन्त्ररुपमा साझा प्यानल बनाएर निर्वाचन जान लागेको बताउनुभयो । शनिबार विहान १० बजेभित्रमा आफ्नो सिंगो टिम सार्वजनिक गरिने जानकारी दिँदै कार्कीले आफूलाई सबै पक्षको समर्थन रहेको बताउनुभयो । यस अगाडी नेपाली कांग्रेसबाट संघमा प्रतिनिधित्व गरेका कार्कीले स्वतन्त्र व्यवसायीक टिम बनाउने घोषणा गरेकोमा विभिन्न पक्षबाट समर्थन आइरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
पत्रकार सम्मेलनमा बोल्दै हालका कोषाध्यक्ष सुशील पोख्रेलले संघका वरिष्ठ उपाध्यक्ष कार्कीले सर्वसम्मत अध्यक्ष पाउनुपर्ने भएपनि उहाँलाई बाइपास गरिएको बताउनुभयो । कार्कीको पक्षमा आफू खुलेर लाग्ने र उहाँलाई संघको अध्यक्ष बन्नका लागि आम मतदाताले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल सुनचाँदी व्यवसायी महासंघ दाङका अध्यक्ष बिनोद नेपालीले कार्कीको उमेदवारीलाई आफूहरुले पनि समर्थन गरेको र व्यक्तिगतरुपमा पनि उहाँलाई अन्याय भएको महसुस गरेकाले अध्यक्ष पदमा उमेदवार बन्न सुझाबका साथै समर्थन गरेको बताउनुभयो । यसैगरी युवा व्यवसायी प्रेम गौतमले बजारको अवस्था सुधार गर्नका लागि पनि कार्कीको नेतृत्वमा कार्यसमिति बन्न जरुरी देखिएकाले आफू कार्कीको उमेदवारी घोषणा कार्यक्रममा सहभागि भएको बताउनुभयो ।