एउटा परीक्षाको दुईवटा रिजल्ट, मर्कामा विद्यार्थी

देउखुरी,  भदौ
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लुम्बिनी प्रदेशले एउटा परीक्षाको दुईवटा नतिजा सार्वजनिक गरेपछि विद्यार्थीलाई समस्या परेको छ । डिप्लोमा फार्मेसी विषय अध्ययनको लागि लिइएको पूर्णछात्रावृत्तिको प्रवेश परीक्षाको दुईवटा नतिजा प्रकाशित भएको छ।

कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङको लागि प्रकाशित फार्मेसीको नतिजामा सिटिइभिटीले नतिजा प्रकाशन गर्दा त्रुटि गरेको पाइएको हो । एउटा परीक्षाको दुईवटा नतिजा सार्वजनिक भएपछि विद्यार्थी राधिका परियार समस्यामा परेकी हुन्।

त्रिवेणी गाउँपालिका(२ रोल्पा निवासी परियारले फार्मेसी विषय अध्ययनको लागि भदौ ९ गते छात्रावृत्तिको लागि परीक्षा दिएकी थिइन् । पहिला सार्वजनिक नतिजामा उनी पास भएको देखिन्छ भने दोस्रो नतिजामा उनको ठाउँमा एफ्रोज शाहको नाम राखिएको पाइएको छ। यसरी दुईवटा नतिजा सार्वजनिक भएपछी परियार समस्यामा परेकी हुन्।

‘आर्थिक चलखेलमा दुई वटा रिजल्ट प्रकाशित भयो’, राधिकाका अंकल कृष्णा नेपालीले भने, ‘अघिल्लो नतिजामा वैकल्पिकमा समेत नाम नभएका व्यक्तिलाई पास गराइएको छ।’ दुईवटा नतिजामा राधिकाको नाम मात्रै फेरिएको छ। अन्य विद्यार्थीको नाम भने यथावत रहेको छ।

यता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लुम्बिनी प्रदेशका निर्देशक गोपाल आचार्यले नतिजा प्रकाशन गर्दा प्राविधिक कमजोरी मात्रै भएको बताए ।

‘नियत बस होइन, यस्ता प्राविधिक कमी(कमजोरी हुने गरेका छन्’, उनले भने, ‘जे हुनुपर्ने हो त्यही गरिएको छ। प्रवेश परीक्षाको रिजल्ट जुधेको खण्डमा एसइईको नजिता हेरेर फाइनल निर्णय गर्ने गरिएको छ। साथीहरूले नतिजा चढाउने बेलामा ख्याल गर्नु भएको रहेनछ। पछि मिलाइयो।’