फोरलेन मर्मतका लागि ज्ञापनपत्र

दाङ, १३ भदौ । बयलडाँडा चौतारी क्लब घोराही उपमहानगरपालिका–१८ ले घोराही–तुलसीपुर फोरलेन मर्मत तत्काल शुरु गर्न दबाब दिएको छ ।

सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै क्लवले दाङ जिल्लाको लाइफलाइनको घोराही–तुलसीपुर र घोराही–कुइरेपानी जोड्ने सडकलाई तत्काल मर्मत गर्न माग गरेको हो ।

‘फोरलेन बनाउने विषयमा लामो समयसम्म अलपत्र रही हाल उक्त अलपत्र सडकको टेन्डर रद्द गरी बिग्रिएको सडकलाई मर्मतका लागि’ टेन्डर खोली उक्त टेन्डरको काम गरिसक्ने समय सीमा आगामी असोज मसान्तसम्म मात्र रहेकामा भदौ १२ गतेसम्म पनि उक्त बिग्रिएको सडकखण्डको मर्मतको लागि कुनै शुरुवात नभएको विषयमा ध्यानाकर्षण भएको छ’– ज्ञापन पत्रमा भनिएको छ ।

सडकको दायाँबायाँ तथा मध्य भागमा खाल्टाखुल्टी हुँदा यातायातका साधन दुर्घटना भई हालसम्म करिव ३६ जना नागरिकले अकालमै ज्यान गुमाउनु परेको भन्दै सडकको विद्यमान कहालीलाग्दो अवस्थाका कारण जिल्लाका नागरिकहरुलाई हिडडुल गर्न कठिन भई सदरमुकाम तथा स्थानीय बजारको पहुँचमा समेत नकारात्मक प्रभाव परेको भन्दै तत्काल मर्मत शुरु गर्न भन्दै ज्ञापन पत्र बुझाइएको हो ।

भदौ १७ गतेभित्र मर्मतको काम शुरुवात नभएको खण्डमा नागरिक दबाबको कार्यक्रम शुरुवात गरिने र दबाबमूलक कार्यक्रमबाट हुन जाने क्षतिप्रति सडक डिभिजन कार्यालय घोराही जिम्मेवार हुनुपर्ने भनिएको छ । क्लवका सचिव मधुसूदन रावतले ज्ञापनपत्र वाचन गरेर सडक डिभिजन दाङका प्रमुख गुरुप्रसाद अधिकारीलाई बुझाउनुभएको थियो ।