उज्यालोको पर्खाइमा सिमानाकाका गाउँ

शिवु खनाल
देउखुरी, १३ भदौँ
छिमेकी राष्ट्र भारतमा सधैँ झिलिमिलि बत्ती । नेपाली भूमिमा रहेका अधिकांश बस्ती सबै अन्धकार । भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा अहिलेसम्म विद्युत् विस्तार गर्न सकिएको छैन । दशगजा देखि दक्षिण तर्फ रहेको भारतीय बस्तीमा चारैतिर झिलिमिलि बत्ती बालेको वर्षौँ भयो तर, संगै जोडिएको राजपुर र गढवा गाउँपालिका अन्तरगत सीमा नाकाका गाउँका करिब दशहजार जनसंख्याले छिमेकीको बत्ती हेरेर अँध्यारो रात बिताउन गरेका छन् । जिल्लामा ३४ वटा नाका रहेका छन् । ती मध्य चिमचिमे, मुसी, कोइलाबास, खबरीनाकामा विद्युत् पुगेको छ भने अन्य नाकाका स्थानीयहरुले अँध्यारोमा रात बिताउने गरेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाका निवासी ७५ वर्षीय कर्णबहादुर घर्ती टुकी र दियालोको भरमा जीवन गुजारा गरिरहनुभएको छ । टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आएको छु, उहाँले भन्नुभयो,–। ‘गाउँमा बिजुली बलेको हेर्ने ठुलो धोको छ । हामीले गाउँमा मटितेलको टुकी बत्ती र सल्लाको दियालोको भरमा गुजारा चलाउँदै आइरहेका छौँ । गाउँमा बिजुली बलेको हेर्ने मेरो सपना सपना मात्रै होला जस्तो छ ।’ भारतसंग सीमा जोडिएका दाङका सीमा नाकाका गाउँ बिजुली मात्र होइन आधारभूत विकासबाट समेत बञ्चित रहेका छन् ।

सीमा नाकाका गाउँमै विद्युत्सँगै अन्य गुणस्तरीय खानेपानी, स्वास्थ्य र शिक्षा पाउने आशामा छन् स्थानीय नाकाबासीहरु । यता राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका निवासी ८५ वर्षीय ललिता खड्का उज्यालोको पर्खाइमा हुनुहुन्छ । उहाँले भन्नुभयो,–। ‘८५ वर्षको उमेर भयो, गाउँमा बिजुली बलेको देख्न पाइएको छैन । बुढेसकालमा भएपनि गाउँ नै उज्यालो भएको हेर्ने रहर छ । उज्यालो भनेको टुकी र दियालो विस्थापित गरी विद्युत्को पहुँच पुग्नु मात्र होइन । गुणस्तरीय सञ्चार, शिक्षा, खानेपानी र स्वास्थ्यलगायत आधारभूत आवश्यकता नागरिकको पहुँचमा पुग्नु हो ।’ छिमेकी राष्ट्र भारतसंग सीमा जोडिएका जिल्लाका अधिकांश सीमा नाकाहरु भौगोलिक रूपमा दुर्गम अनि विकट कृषि, पुशपालन, जडीबुटी अथाह सम्भावना भएको गाउँ हो । यहाँ व्यवसायी रुपमै बाख्रापालन, धान, गहुँ, मकै, चना, मसुरो, कपास उत्पादन हुने गर्दछ । राजपुर गाउँपालिका वडा नम्बर ७ गम्भिरानाका निवासी ५५ वर्षीय खुमबहादुर रोकाले भन्नुभयो,–। ‘सबै हिसाबले अथाह सम्भावना भए पनि हामीले अहिलेसम्म केही लाभ लिन सकेका छैनौँ । विद्युत् नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न भारतीय बजार, पुग्नुपर्ने बाध्यता छ । उज्यालोको दिन पर्खिरहेका छाँै ।’

त्यती मात्रै नभएर आफ्नै नेपाली भुमी जान सडक नहूँदा यहाँ उत्पादित वस्तु बजारसम्म पु¥याउन असहज भएको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी मंगलसिंहले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘पूर्वपश्चिम राजमार्ग हुदैँ गाउँसम्म ५० किलोमिटर कच्ची सडक विस्तार गरिएको छ तर, संचालनमा भने आएको छैन । बर्सातको समयमा त्यही सडक पनि बन्द हुने गरेको छ ।’ यता राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा निवासी चक्रबहादुर खड्का (शिखर)ले सीमा नाकाका गाउँमा विद्युत् र सञ्चारको पहुँच विस्तार हुन सकेमा यहाँका नागरिकको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो । सीमानाकाका गाउँमा विद्युत् पु¥याउन सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । गाउँपालिका केन्द्रदेखि सिधा सडक सञ्जालले जोडिएता पनि बर्खाको समयमा उक्त सडक बन्द हुने बताउनुहुदैँ उहाँले यहाँ पुग्न भारतीय भुमी प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

भौगोलिक विकटताका कारण सीमा नाकाका गाउँ विकासमा पछाडि परेको उहाँको भनाई छ । यता राजपुर गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले भौगोलिक रूपमा दुर्गम र विकट सीमावर्ती क्षेत्रको विकास लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो ।।