एसिया कपलाई स्मरणीय बनाऔं : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कपका खेलहरूलाई स्मरणीय बनाउन आग्रह गरेका छन् ।

पहिलो पटक एसिया कपमा पुगेको नेपालले विश्वकप जितिसकेको दुई पावरहाउस भारत र पाकिस्तानसँग खेल्नेछ । बुधबार घरेलु टोली पाकिस्तानसँग उद्घाटन खेल खेल्न नेपाली टोली मुल्तान पुगिसकेको छ ।

पाकिस्तानसँग खेल्नु दुई दिनअघि सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कप्तान रोहितले सपनाहरूलाई पछ्याउँदै चुनौती सामना गर्न निस्किएको बताएका छन् । उनले अघि लेखेका छन्, ब्याटको प्रत्येक स्ट्रोक, प्रत्येक क्याच र मैदानमा प्रत्येक क्षण हाम्रो लक्ष्यको एक कदम नजिक हुनेछ ।’

समर्पण, टोली भावना र समर्थनको अटल साथ  बोकेर अघि बढ्ने भन्दै उनले भनेका छन्,  ‘यो खेललाई स्मरणीय यात्रा बनाऔं !’