एसिया कप क्रिकेट खेल्न सन्दीप आज पाकिस्तान जाँदै

दाङ, भदौ ११ । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान जाने भएका छन् । हिजो आइतबारका लागि तय भएको उनको सुनुवाइ स्थगित भएपछि उनको पाकिस्तान यात्रा तय भएको हो । उनी आज सोमबार पाकिस्तान प्रस्थान गर्दैछन् । उनीविरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइने भएपछि अदालतले अर्को पेशी भदौ २१ गतेका लागि तोकेको छ ।

एसिया कप यही भदौ १३ गते बुधवारदेखि प्रारम्भ हुँदैछ । नेपालले पहिलो खेल १३ गते पाकिस्तानसँग तथा दोस्रो खेल भारतविरुद्ध १८ गते खेल्दैछ । सन्दीपले अर्को पेशीमा उपस्थित हुनुपर्ने भएकाले भारत र पाकिस्तानविरुद्धको खेल खेल्न पाउने छन् ।

आइतबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५औँ नम्बरमा भएको मुद्दा हेर्न नभ्याइने भनी आदेश दिएको थियो । एसिया कपका लागि नेपाली टोली यसअघि नै पाकिस्तान पुगिसकेको छ । एसिया कपको समूह ‘ए’मा नेपाल, पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

एशिया कपमा नेपालले १३ भदौ गते पाकिस्तानसँग मुल्तानमा खेल्ने छ भने नेपालले भदौ १८ भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपाली टोली बुधबार पाकिस्तान पुगेको थियो । पाकिस्तान हाल विश्वको नम्बर वान ओडिआई राष्ट्र हो । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक कुनै पनि वरीयता शीर्ष टोलीसँग खेल्न लागेको हो । पाकिस्तानले शनिबार अफगानिस्तानलाई तेस्रो ओडिआई खेलमा ५९ रनले हराउँदै तीन खेलको सिरिज क्लिनस्विप गर्दै शीर्षस्थानमा उक्लिएको थियो ।

नेपालले भदौ १८ मा भारतसँग खेल्नेछ । भारत विश्व ओडिआई वरीयतामा तेस्रो स्थानमा छ । नेपाल आइसिसीको ओडिआई विश्व वरीयतामा १५औँ स्थानमा छ । यसअघि नेपालले वरीयताको हिसाबमा सबैभन्दा ठूलो टोली वेष्टइण्डिजसँग दुई महिनाअघि जिम्बाबेमा खेलेको थियो । आइसिसी विश्व ओडिआई वरीयतामा त्यस समय वेष्टइण्डिज १०औँ र नेपाल १४औँ स्थानमा थिए । ११औँ स्थानमा रहेको जिम्बाबेसँग पनि खेलेको थियो ।