घोराही ८ भाद्र । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन यही भाद्र १६ देखि बुटवलमा हुन लागि रहेको छ । एमालेले सात प्रदेश, र उपत्यका गरी आठ प्रदेशको अधिवेशन असोज महिनासम्म गर्ने तयारी गरेको छ ।
पहिलो पटक लुम्बिनी प्रदेशको अधिवेशन हुन लागि रहेकाले पार्टी केन्द्रले समेत यसलाई विशेष चाँसोकारुपमा लिएको छ । अधिवेशनको उद्घाटन गर्न एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहेको छ । लुम्बिनी प्रदेश एमाले महासचिव शंकर पोख्रेल, एमाले उपाध्यक्षहरु युवराज ज्ञवाली, विष्णु पौडेल, एमाले उपमहासचिव प्रदिप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छबिलाल विश्वकर्मालगायतका सयौ होनहार एमाले नेताहरु भएको प्रदेश हो । यस अर्थमा पनि एमालेले लुम्बिनी प्रदेश अधिवेशन भव्य र सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्ने गरी तयारी गरेको एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यले जानकारी दिनुभयो ।
अधिवेशनमा १२ जिल्लाका एक हजार बढि प्रतिनिधि र हजारौहजार कार्यकर्ता, शुभेच्छुकको सहभागिता हुनेछ । यसका लागि भाद्र ९ गते शनिबार प्रदेशका सबै जिल्ला अनि जनवर्गीय संगठनले प्रतिनिधि छनौंट गर्न लागि रहेका छन् ।
यहीक्रममा नेकपा एमाले दाङले शनिबार जिल्लाका दशवटै पालिकामा विशेष भेलाको आयोजना गरेर प्रतिनिधि छनौंट गर्ने तयारी गरेको छ । पालिका कमिटीको आयोजना र जिल्लाको संयोजनमा हुने प्रतिनिधि छनौंट कार्यक्रममा जिल्लाको तर्फबाट निर्वाचन अधिकृतहरु समेत खटिएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतहरु सम्बन्धित पालिकामा शुक्रबार साझ या शनिबार विहानै पुगि सक्नेछन् ।
लुम्बिनी प्रदेशमा सबै भन्दा बढि पार्टी सदस्य रुपन्देहीमा छन् । त्यसको पछिपछि दाङमा पनि १२ हजार बढि पार्टी सदस्य छन् । यस हिसाबले दाङबाट पार्टीको तर्फबाट १ सय ३१ जनाको हाराहारीमा प्रतिनिधि छनौंट हुने छन् । यसमा एक तिहाइ महिला अनिवार्य हुनुपर्नेछ । अन्य समुदायको हकमा १ सय बराबर एक प्रतिनिधि भएपनि दलित समुदायको हकमा ७५ जना बराबर एक प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले प्रतिनिधि छनौंट कार्य सर्वसम्मतरुपमा सम्पन्न गर्ने तयारी जिल्लाले गरेको र प्रतिनिधिहरुलाई पार्टीको अपानी अनुसार नै छनौंट गरिने बताउनुभयो । समावेशीतालाई पनि विशेष ख्याल गरेर प्रतिनिधि छनौंट कार्य सम्पन्न गर्न सबै पालिकालाई अनुरोध गरिएको पार्टी सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । दाङबाट सबै भन्दा बढि घोराहीबाट ४२ जाना, तुलसीपुरबाट ४० जना प्रतिनिधिहरु प्रदेश अधिवेशनमा सहभागि हुनेछन् । यस बाहेक पार्टीले यस पटक जनवर्गीय संगठनको हकमा महासंघ भएको जनवर्गीय संगठनलाई ५ जना र संघ भएकोलाई ३ जना प्रतिनिधि पठाउने व्यवस्था गरेको छ । जसमा एक तिहाई अनिवार्य महिला सहभागिता हुनुपर्नेछ । जनवर्गीय संगठनको प्रतनिधि छनौंट पनि शनिबार नै हुने बताइएको छ ।
प्रतिनिधि छनौंटका लागि पालिकाहरुले आ–आफ्नो तर्फबाट तयारी गरेका छन् । विहान ११ बजे दाङका दशवटै पालिकामा एकैसाथ प्रतिनिधि छनौंट कार्यक्रम हुनेछ । घोराहीमा भरतपुरस्थित पार्टी कार्यालयमा प्रतिनिधि छनौंट कार्यक्रमको आयोजना गरिएको घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीले जानकारी दिनुभयो । उहाँले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा १९ वटै वडाका नेता, कार्यकर्ताहरुलाई भेलामा उपस्थित हुन अनुरोध गर्नु भएको छ ।
शनिबार हुने प्रतिनिधि छनौंट कार्यक्रमलाई व्यवस्थित गर्नको लागि जिल्लाका दशवटै पालिकामा शुक्रबार तयारी वैठक गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।
एमाले लुम्बिनी प्रदेश प्रतिनिधि छनौंट कार्यक्रम तालिका ः
समय ः विहान ११ बजे
मिति ः २०८० भाद्र ९ गते
–घोराही–पार्टी कार्यालय भरतपुर
–तुलसीपुर–सभाकक्ष दोघरे
–लमही–पार्टी कार्यालय, रातोडाँडा
–राप्ती–पार्टी कार्यालय मसुरिया
–गढवा–उवासंघको सभाकक्ष
–बंगलाचुली–कमिरेचौर
–दंगीशरण–हेकुली सभाहल
–बबै–हापुरे सभाहल
–शान्तिनगर–जुम्ले कुला
–राजपुर–जंग्रहवा