नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन

दाङ, ५ भदौ । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहा दैनिक विद्यालय जानु हुन्छ । कुनै समय घरव्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्ने गर्दछ ।

उहाले पनातिसमेत देखिसक्नु भएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहा कक्षा १ मा पढ्न थालनु भएको छ । चालु शैक्षिकसत्रदेखि उहाले कक्षा १ को पढाइ सुरु गर्नु भएको हो । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहा पढ्न थालनु भएको छ । उहा पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नु हुन्छ ।

‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्’, उहाले भन्नुभयो, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।’

घरमा पनि उनी नातिहरूसँग बस्दै आएका छन् । उहाकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उहा एकलरूपमा बस्दै आउनु भएको छ । उहाको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आउनु भएको छ ।

नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाको भनाइ छ । उहाले आफू बाँच्दासमेत पढिरहने बताउनु भयो । ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उहाले भन्नुभयो, ‘जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।’

उहा पढ्नमा पनि त्यति कमजोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताउनु भयो । अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाले राम्रोसँग पढ्न सकेको उहाको भनाइ छ ।

उहाजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनु भयो ।

विद्यालयले उहालाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताउनु भयो । उहा विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताउनु भयो ।