कमल गाउँलेले ल्याए गाईजात्रे प्रस्तुति ‘काण्डै काण्डको देश

दाङ, २ भदौ । हाँस्य कलाकार कमल गाउँलेको गाईजात्रा ‘काण्डैकाण्डको देश’ सार्वजनिक भएको छ । गाउँलले एक कार्यक्रमका बिच २०८० सालको गाईजात्रा ‘काण्डैकाण्डको देश’ को भिडियो सार्वजनिक गर्नु भएको हो ।

देशमा भइरहेका विकृति र विसङ्गतिलाई व्यङ्ग्यत्मक ढङ्गले प्रहार गर्दै विगत २३ वर्षदेखि निरन्तर रूपमा गाईजात्रा निकाल्दै आएका गाउँले यस वर्ष पनि व्यङ्ग्यात्मक गाईजात्रा सार्वजनिक गर्नु भएको हो । गाउँले आफ्नै ‘कमल गाउँले’ युटुव च्यानलबाट उक्त गाईजात्रा सार्वजनिक गर्नु भएको हो । समसायिक विषयवस्तु, राजनीतिलगायतका विषयमा तिखो व्यङ्ग्यात्मक शैलीमा सुधारका लागि प्रहार गरेको हाँस्यकलाकार कमल गाउँलेले बताउनु भयो ।

उहाले गाईजात्राको माध्यमबाट विकृति र विसङ्गतिकाविरुद्धमा निरन्तर रूपमा आफुले बोले पनि नेताहरूले सुधारमा ध्यान नदिएकाले आफुले निरन्तर रूपमा गाईजात्रा निकाल्दै आएको बताउनु भयो । उहाले सुरुका वर्षहरूमा काठमाडौंबाट गाईजात्रा निकाल्ने गरे पनि पछिल्लो केही वर्षयता आफ्नै ठाउँ घोराहीबाट निकाल्ने गरेको बताउनु भयो ।

गाईजात्रा सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उदय जिएम, घोराही उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्याल, नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, सिस्नुपानी नेपाल दाङ शाखा अध्यक्ष लोकराज पराजुली, हाँस्यकलाकार तथा सञ्चारकर्मी पिताम्बर रिजाल, मानव अधिकारकर्मी विनोद केसीलगायतको सहभागिता रहेको थियो ।