दुर्गालाल केसी,दाङ, । अधिक भार बोकेका मालवाहक साधनले कालोपत्रे उप्किएपछि दाङको घोराही–कमिरेचौर र घोराही–होलेरी सडक धुलाम्मे र हिलाम्मे बनेको छ । घोराही–लमही र तुलसीपुर–कपुरकोट सडकको अवस्था पनि त्यस्तै छ । सडकको अवस्थाका कारण यी सडकमा यात्रा गर्न कठिन भइरहेको छ ।
पानी पर्दा भासिने, पहिरो खस्ने अवस्था छ भने अरू बेला धुलो, हिलो र खाल्डाखुल्डीको सास्ती बेहोर्नुपर्छ । अधिक भारका गाडी चल्दा यी सडकको अवस्था बिग्रिएको हो । ओभरलोडका कारण सडकमा गाडी चलाउन मिल्ने अवस्थामा नरहेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताउनु भयो । ‘लमही–घोराही जस्तो नियमित चल्ने सडक समेत कतिबेला कहाँनेर भत्किन्छ, थाहै हुँदैन ।
सडक भासिएर, भत्किएर बेहाल छ,’ उहाले भन्नुभयो, ‘गाडीको भार नियन्त्रण गर्न कसैले ध्यान दिएको छैन । सडक दिनदिनै नाजुक भइरहेका छन् ।’ भारतबाट आउने ट्रकले सडकको क्षमताभन्दा बढी भार बोकेको पाइएको श्रेष्ठले जनाए । ‘भारतबाट आउने गाडीमा कसैको पनि नियन्त्रण छैन । ट्राफिकसँगको सहकार्यमा हालसम्म ३० ट्रक कारबाहीमा परेका छन्,’ उहाले भन्नुभयो । जिल्लामा सिमेन्ट उद्योगका गाडीले अत्यधिक भार बोक्ने गरेको उहाले बताउनु भयो ।
भारतबाट सिमेन्टका सामान लिएर आउजाउ गर्ने र चुनढुंगा बोक्ने मालवाहक साधनले अधिक भार बोक्ने गरेका छन् । घोराही–कमिरेचौर र घोराही–होलेरी सडक छिटै बिग्रिनुको कारण सिमेन्ट उद्योगमा चुनढुंगा बोक्ने गाडी नै भएको श्रेष्ठको दाबी छ । जिल्लामा घोराही, सोनापुर र सम्राट् सिमेन्ट उद्योग सञ्चालनमा छन् ।
ती उद्योगले बंगलाचुलीको तापा र रोल्पाको होलेरी क्षेत्रबाट चुनढुंगा उत्खनन गरिरहेका छन् ।सडकमा क्षमताभन्दा दोब्बर भारका गाडी चल्ने गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले जनाउनु भयो । ‘१७ टनसम्म सामान बोक्नुपर्ने ट्रकले ३० टनसम्म बोकेको भेटिएको छ । मालवाहक गाडी सबै ओभरलोड चल्छन्,’ उहाले भन्नुभयो, ‘क्षमताभन्दा बढी भारका गाडी चलेपछि सडक टिक्ने कुरै भएन । ओभरलोडले सडक चौपट भइसक्यो ।’ अधिक भार बोक्ने गाडी चल्ने सडकमा कालोपत्रेको नामोनिसान नरहेको अधिकारीले बताउनु भयो ।
भार नियन्त्रणका लागि गाडीका फोटो खिचेर प्रहरी प्रशासनलाई पटकपटक अनुरोध गर्दा पनि केही काम नभएको उहाले बताउनु भयो ।
सडकमा गाडीको भार क्षमता हेर्ने जिम्मेवारी यातायात व्यवस्था कार्यालयको हो । अन्य कार्यभार बढी भएकाले सडकमा गाडी जाँच गर्ने समय पाउन कठिन भइरहेको यातायात व्यवस्था कार्यालय दाङका प्रमुख रमेश गौतमले जनाउनु भयो ।
‘सडक अनुगमन, तौल परीक्षणका लागि पठाउने र कारबाही गर्ने काम गर्न सकिन्छ । तर हाम्रो कार्यालयको काम धेरै भएकाले सडकमा निस्कन पाइएको छैन,’ उहाले भन्नुभयो, ‘प्रहरी, प्रशासनसँग समन्वय गरेर अब केही सुधारका काम गर्छौं ।’सडकमा अधिक भारका गाडीले सडक बिग्रने र दुर्घटना बढ्ने समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले बताउनु भयो ।
सडकमा गाडी जाँच गरेर बढी भार बोक्नेलाई जरिवाना गर्ने र बढी भएका सामान निकालिदिने काम गरिरहेको उहाको भनाइ छ । ‘भारतबाट आउने र अन्य ट्रक, टिपर पनि क्षमताभन्दा बढी नै सामान बोकिरहेका भेटिन्छन्,’ उहाले भन्नुभयो, ‘गाडीको भारका कारण सडकको अवस्था बिग्रिरहेको छ । दुर्घटनाको जोखिम बढिरहेको छ ।’ अधिकभारका गाडीले सडक बिग्रेको गुनासा बढेपछि पत्र पठाएर सचेत गराइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनु भयो ।