सरकार विपक्षीप्रति प्रतिशोध साँध्ने बाटोमा लाग्यो-ओली

दाङ, साउन २९ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध हुनु दु:खद भएको बताएका छन्। आइतबार विशेष पत्रकार सम्मेलन गर्दै ओलीले संसद्ले जानताका काम गर्न पाउनुपर्ने बताएका हुन्। सत्तापक्षले नै होहल्ला गरेर सदन चल्न नदिएको उनको आरोप छ।

“प्रतिपक्षलाई बोल्नै नदिने, सत्तापक्ष उठेर होहल्ला गर्ने, कुरा राख्न नदिने यसरी हुन्छ,” ओलीले भने, “संसद् निदाएर बस्ने ठाउँ होइन। सुतेर बस्ने ठाउँ होइन। संसद्ले जनताका पक्षमा काम गर्नुपर्छ।” एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग ओलीले दोहोर्‍याए। “सरकारको संरक्षणमा तस्करीका धन्दाहरू मौलाउन थालेका छन्। सरकार विपक्षीहरूप्रति प्रतिशोध साँध्ने र अपराधलाई ढाकछोप गर्ने बाटोमा उद्धत छ,’ ओलीले भने, “सरकार भ्रष्टाचार र तस्करीको पक्षमा रहेकाले आगामी दिनमा यस सरकारले मुलुकलाई झनै जोखिमतिर धकेल्छ।”

सुन प्रकरण र चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाहरूको निष्पक्ष छानबिन हुनुपर्ने ओलीले बताएका छन्।