साउन । तुलसीपुर उपमहानगरपालिकाको मेट्रो हस्पिटालिटीमा ‘पुनः कल्पना गरिने सहजीकरणः अंगेजी भाषा शिक्षणमा समालोचनात्मक चिन्तन र सूचना, सञ्चार तथा प्रविधि’ विषयक एक दिवसीय कार्यशाला आयोजना गरिएको छ ।
अंग्रेजी भाषाको विकास गर्न र यसको प्रवद्र्धन गर्न कार्यशाला आयोजना गरिएको नेल्टा दाङ्गका अध्यक्ष तुलसीराम डाँगीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत मानबहादुर खड्का प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेल्टाका केन्द्रीय सदस्य होमराज खड्का र प्याब्सन दाङ्गका अध्यक्ष मधुसुदन केसीले कार्यशालाको प्रभावकारिताका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय तुलसीपुरका अंग्रेजी शिक्षक तथा नेल्टा दाङ कार्यसमिति सदस्य पूर्णबहादुर डाँगी, गंगा माध्यमिक विद्यालय रामपुर दाङकी अंग्रेजी शिक्षक गंगा गौतम र माध्यमिक विद्यालय दोघरेकी प्रधानाध्यापक सुनिता यादवको समेत सहभागिता रहेको कार्यशालामा होमराज खड्का, मानबहादुर खड्का, पूर्ण बहादुर डाँगी र गंगा गौतमले सहजीकरण गरेका थिए ।
कार्यक्रममा तुलसीपुर क्षेत्रका विभिन्न सामुदायिक तथा निजी विद्यालयका ५० बढी अंग्रेजी शिक्षकको सहभागिता रहेको थियो । नेल्टा दाङ्गका उपाध्यक्ष दामोदर गिरीले स्वागत मन्तव्य राखेको कार्यशालामा नेल्टा दाङ्गका कोषाध्यक्ष देवराज भण्डारीले आजीवन सदस्य बन्ने प्रक्रिया र यसका फाइदाका बारेमा चर्चा गरे । नेल्टा दाङ्गका अध्यक्ष डाँगीले कार्यशालालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिए । कार्यशालाको अन्त्यमा सहभागीहरुका तर्फबाट हिमलाल बस्याल र झरना बुढाले आ–आफ्नो अनुभव सुनाएको उक्त कार्यशालाको सञ्चालन नेल्टा दाङ्गका सचिव हुकुमबहादुर जीसीले गरेका थिए ।