दाङ, । आउँदो भाद्र १६ र १७ गते बुटवलमा हुन लागि रहेको नेकपा एमाले प्रदेश अधिवेशनका लागि एमाले दाङले जिल्लाका दशवटै पालिकामा एकैदिन प्रतिनिधि छनौंट गर्ने भएको छ । नेकपा एमाले दाङको शनिबार सम्पन्न सचिवालय वैठकले आउँदो भदौ ९ गते दाङका दश वटै पालिकामा एकैदिन प्रतिनिधि छनौंट गर्ने निर्णय गरेको छ ।
एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षत्ता एवं एमाले दाङका इञ्चार्ज चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले प्रतिनिधि छनौट कार्यलाई व्यवस्थित गर्न विशेष कार्यक्रम बनाउने निर्णय गरेको छ ।
वैठकले एमाले नेता वामदेव शर्माका पुजनीय पिता घनश्याम उपाध्यायको ८९ वर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गरेको छ । एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको वैठकमा एमाले केन्द्रीय सदस्य, प्रदेश सदस्यहरुले सुझाब सहितको धारणा राखेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
वैठकमा वोल्दै केन्द्रीय सदस्य तथा दाङ इञ्चार्ज चेतनारायण आचार्यले प्रदेश अधिवेशन भव्यरुपमा सम्पन्न गर्न दाङ पार्टीले विशेष भूमिका खेल्ने वताउनुभयो । दाङमा एमालेको १२ हजार बढि पार्टी सदस्य छन् ।
यसैबीच नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी भदौ १६ र १७ गते बुटवलमा हुँदैछ । प्रदेश अधिवेशनमा सहभागी हुनका लागि प्रतिनिधि छनोट मापदण्ड निर्धारण गरिएको छ ।
प्रदेश अधिवेशन आयोजक समितिको लमहीमा सम्पन्न बैठकले अधिवेशनमा सहभागिताका लागि एक सय सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरेको छ । खुल्लातर्फ एक सय जना सदस्य बराबर एक जना र दलिततर्फ ७५ जना बराबर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरेको एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिमध्ये एक तिहाई महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
उहाँले प्रतिनिधि छनोट गर्दा समावेशीतालाई ध्यान दिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । आचार्यका अनुसार लुम्बिनी प्रदेशका सम्पुर्ण पालिका र ईलाकालाई आधार मानेर भदौ ९ गते एकैदिन प्रतिनिधि छनोट गरिने तयारी रहेको छ ।
