देउखुरीबाट बाह्र लाखको अवैध कपडा बरामद

शिवु खनाल
देउखुरी,  साउन
सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्ले अवैध कपडा बरामद गरेको छ । बुधवार विहान ६ बजे राप्ती गाउँपालिका वडा नम्बर १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डामा खटिएको मोबाइल गस्ती टोलीले पूर्वपश्चिम लोकमार्ग स्थित पोखराबाट तुलसीपुर तर्फ जादैँ गरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार ८ साय ९० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अवैध रुपमा भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो । बरामद सामानमा पाइन्ट सुट ५१ थान, लेडिज सुट २ सय ३२ पिस, बुलाउज सुट एकसय ६ थान र सुतिका कपडा एकसय १२ थान अवैध कपडा छन् । पक्राउ गरि नियन्त्रणमा ल्याइएको अवैध कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजश्व कार्यालय बुटव रुपन्देही पठाएको छ ।
चाडपर्व नजिकिएसँगै दाङमा चोरी–तस्करी बढ्दै गएको छ । सवारीसाधन तथा सीमावर्ती क्षेत्रमा दैनिकजसो भन्सार छलेर अवैध रूपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् । अन्य समयभन्दा चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ । छोटो समयमा बढी कमाउने धाउन्नमा लागेका तस्करहरूले चाडपर्वलाई कमाउने मलिलो सिजनका रूपमा लिने गरेका छन् । नियमनकारी निकायसँग साँठगाँठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कयौँ गुणा बढी बनाइने गरेको जानकारहरू बताउँछन् ।
चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिने गरेको गुनासो बढ्दै गएको छ । पसल दर्ता नगरेका स्थानीय खुद्रा व्यापारीले नाकासंग जोडिएका भारतीय बजारबाट अवैध सामान ल्याएर बेच्ने गरेका कारण सरकारलाई राजश्व तिर्ने ठूला व्यापारीहरु मारमा पर्दै गएका छन् । जसले गर्दा ठूला व्यापारीहरुले तिर्ने राजश्वमा पनि गिरावट हुँदै गएको छ भने भन्सार छली गरेर अवैध सामान भित्र्याएर व्यवसाय गर्ने व्यापारीहरुबाट पनि राजश्व छली हुँदै गएको छ । जसको असर नेपाली अर्थतन्त्रमा पर्ने गरेको छ ।
सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन
अवैध रुपमा भारतबाट भित्रिने कपडामा सशस्त्र प्रहरीले कडाइ गर्न थालेको छ । कपडा तस्करी बढेको भन्दै सशस्त्र प्रहरीले भन्सारमा कडाइ गरिरहेकाले भारतीय कपडा आउन बन्द हुने बितिक्कै नेपालका स्थानीय बजार प्रवद्र्धन हुने विश्वास व्यक्त गरिएको छ । भारतीय बजारबाट एकसय रुपियाँभन्दा बढीको सामान किन्न नपाइने कानुनी व्यवस्थालाई कडाइपूर्वक कार्यान्वयन गर्दा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने नेपाली उपभोक्ताको संख्या घटेको छ । भन्सार कार्यालयले कानुन बमोजिम बाहेक कुनै पनि वस्तु ल्याउन नदिने र ल्याउन पाइने वस्तुमा अनिवार्य भन्सार लिने व्यवस्थाबाट कार्यान्वयनमा ल्याएको हो ।
भन्सारले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएपछि खटिएका सशस्त्र प्रहरी बलको टोलीले एक सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा अनिवार्य भन्सार तिराएर मात्र सर्वसाधारणलाई आउन दिइरहेको छ । भारतसंग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा कडाइ गर्न निर्देशन दिइएको छ । चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिन सक्ने भन्दै जिल्लाका सबै खुला सीमा नाकामा कडाई गर्न निर्देशन दिएको सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले बताउनुभयो । उहाँले सीमा क्षेत्रमा सुरक्षा निकायका प्रमुखलाई खुला सीमा क्षेत्रमा कडाइ गर्न आफुले निर्देशन गरेको बताउनुभयो ।।