अविसेक डाँगी ,
नेपालगन्ज । आइतबार बिहान १० बजे , यातायात व्यवस्था कार्यालय नेपालगन्जमा पुग्दा कार्यालयको गेटैमा केही थान मास्क बेच्न बसेका एक युवाले बोलाए। ‘के काम थियो हजुर, यता आउनुस न म सहयोग गर्छु ।’ उनको कुरा सुन्न एकैछिन समय खर्च गरौंन त भनेर छेउमा जादा उनले यातायात सेवा सम्बन्धी अनलाइन फारम भर्ने देखि फाँटका सबै काम गरिदिने सुनाए। उनी देखाउनका लागि सानो खुद्रे पसल राख्ने र यातायात व्यवस्था कार्यालयमा बिचौलीयाको काम गर्दारहेछन्। छेउमै केही महिला दिदीबहिनीहरु पनि ‘के काम थियो होला’ भन्दै सेवाग्राहीहरुलाई बोलाउदै सहयोग गरिदिने भनिरहेका थिए ।
ती युवाका कुरा सुनिसकेपछि केही पर चिया व्यपार गर्दै गरेका अर्का व्यापारीकोमा चिया पिउने योजनाका साथ पुग्दा ‘तपाइको काम सकिएन ?’ चिया पसले प्रश्न गरे । संयोग नेपालयन खबरको टीमले शुक्रबार पनि यातायात व्यवस्था कार्यालय जाँदा उनैकोमा चिया पिएको थियो । त्यसैले उनले हिजो देखी आएका सेवाग्राही भन्ने पहिचान गरे । उनको प्रश्न पछि हामीले भन्यौ, ‘एक जना सेवाग्राहीलाई काम गर्न एक जना सहयोगि अनिवार्य चाहिने रैछ यहा त’ हाम्रो कुरा सकिन नपाउदै उनले थपे, अँ यहाँ त चाहिन्छ, मैले पनि कतिलाई सहयोग गरिदिने गरेको छु।’
यी त केही प्रतिनिधि पात्र मात्र हुन्। यातायात व्यवस्था कार्यालय परिसरमा पुग्नेबितिकै सेवाग्राहीलाई बिचौलियाले तानातान गर्छन। कार्यालयको गेट बाहिर चिया व्यापार गर्ने देखी मास्क बेच्ने,चटपटे बेच्ने समेत यातायातसँग सम्बन्धित काम लिएर गएका सेवाग्राहीँग दलाली गर्छन। उनीहरुबाट सर्वसाधारण सेवाग्राहीहरु दिनदहाडै ठगिनेगरेका छन्।
बाँके जिल्ला भन्दा बाहिरबाट आएका सेवाग्राही धोरै सयम लिएर आउने र चाडै कामसकेर जाने योजनामा हुन्छन्। त्यही मौका छोपेर सेवा दिलाउन सहयोग गर्ने नाममा बिचौलियाहरुले सेवाग्राहीबाट पैसा असुल्ने गरेको पाइएको छ। पुराना बिचौलियाहरुले पैसा लिएर काम सकेर पठाउँने गरेपनि नयाँ बिचौलियाहरु कार्यालय परिसरमा पसेर सेवाग्राहीसँग पैसा असुलेर भाग्ने गरेको सेवाग्राहीको गुनोसो छ। बिचौलियासमेत नयाँ र पुराना छुट्याउने गरिन्छ यहाँ, कर्मचारीहरुसँगको सेटिङमा पैसा लिएर नियमित काम गरिदिने पुराना बिचौलियाले नयाँ बिचौलियाहरुले ठगको रुपमा हेर्ने गरेको पाइएको छ। वर्षौ देखी काम गर्दै आएका बिचौलियाहरु आफूलाई सेवाग्राहीका असल सहयोगी भन्न रुचाउँछन भने भर्खरै काम सिक्दै गरेकाहरुलाई ठगको रुपमा प्रस्तुत गर्छन्।
यसरी ठगिन्छन सेवाग्राही
आइतबार नेपालयन खबरको टीम यातायात व्यवस्था कार्यालय नेपालगन्जमा पुग्दा दाङ जिल्लाका एक सेवाग्राही ‘पैसा लिएर भाग्यो’ भन्दै कसैलाइ खोज्दै थिए। ट्याक्टरको बिलबुक बनाउन यातायात व्यवस्था कार्यालय पुगेका उनी नयाँ बिचौलियाको फन्दामा परेका रहेछन्। उनले आफ्नो फाइलसहित सात हजार दिएको बताए। ‘विगत पाँच वर्षदेखि यातायात क्षेत्रका समस्या सहजीकरणमा काम गर्दै आएको भनेपछि चाडै काम बन्छ भन्ने सोचेर पैसा दिएँ,’ उनले भने ‘चिनजान र सम्पर्क नम्बरसमेत नलिइ कागजातसहित पाँच हजार बुझाएका उनले यसरी भाग्छ भन्ने थाहै नसोचेको बताए। ती सेवाग्राही लाई कार्यालयको गेट बाहिर चिया पसल गरेर बसेका व्यक्तिले ‘मान्छे नचिनी दिनुहुन्न नी’ भनेर सम्झाए। एउटा सटरमा चिया व्यपार गर्दै बसेका उनले सेवाग्राहीलाई भने, ‘मलाइ भन्नु भएको भए काम भैहाल्थ्यो।’ तव थाहा भयो उनि पनि यातायात व्यवस्था कार्यालयका पुरानै बिचौलिया रहेछन्।
सेवाग्राही सास्तीमा
यातायात व्यवस्था कार्यालय नेपालगन्जमा सेवा लिन गएका सेवाग्राहीले सास्ती भोग्नु परेको छ। यातायात सम्बन्धी सानातिना काम लिएर जाँदा समेत सेवाग्राही आफैले ती कामहरु गर्न सक्दैनन्। कुनै न कुनै बिचौलिया नसमाइ काम गर्न नसकिने सेवाग्राहीहरुको गुनासो छ।
सवारी साधनको कर बुझाउने देखि नविकरण गर्ने, लाइसेन्स सम्बन्धी कामहरु गर्नका लागि कर्मचारी सिधै कर्मचारी समक्ष पुग्न नसकिने उनिहरुले भनाइ छ। विगत एक साता देखि लाइसेन्स भेरीफाइको काम लिएर निरन्तर यातायात व्यवस्था कार्यालय धाएका बर्दियाका समीर चौधरी अझै काम नसकिएको बताउँछन्।
‘गत सोमबाररदेखी लाइसेन्सको भेरीफाइका लागि आएको अझै काम भएको छैन,’ उनले गुनासो गरे । कोठा नम्बर ८ र ६ मा धाउदा-धाउदा एक हप्ता बितेको चौधरीले बताए। यो कार्यालयको बाहिर झ्यालहरुमा बिचौलियादेखी सावधान लेखिएपनि कर्मचारीले समयमा नियमित काम नगरिदिदा सेवाग्राहीलाई अनिवार्य बिचौलिया पछ्याउनु पर्ने बाध्याता उस्तै छ। सेवाग्राहीबाट कर्मचारीलेसमेत अतिरिक्त रकम नलिइ काम गर्न निकै अप्ठ्यारो मान्ने गरेको गुनासो गरेका छन्।