शिवु खनाल
देउखुरी, १५ साउन
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको नाङ्गो डाँडामा वृक्षारोपण गरिएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजना तथा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको प्राविधिक सहयोगमा वनको सत्रविघा नाङ्गो डाँडामा वृक्षारोपण गरिएको हो । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको बताउनुभयो । उहाँले मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण थालेका छौँ । यसलाई अभियानकै रूपमा अघि बढाउँछौँ । यसमा हामीलाई अजम्मरी सामुदायिक वनले विरुवा र जग्गा उपलब्ध गराउनु भएको छ । अब हरेक साता वृक्षरोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौँ ।’
यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले अभियानको पहिलो दिन सातसय भन्दा बढी विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरेको बताउनुभयो । वृक्षरोपणका लागि सामुदायिक वनका करिब तीन सय उपभोक्ता भेला भएका थिए । अर्को हप्ता यस क्षेत्रमा पुनः एकहजार भन्दा बढी विरुवा वृक्षरोपण गरिँदै छ । सो क्षेत्रमा करिब तीन हजार पाँचसय बिरुवा रोप्ने योजना रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो । उहाँले खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान थालिएकाले सहभागी हुन उपभोक्ता समितिले सबैमा आह्वान गरेको बताउनुभयो । उहाँका अनुसार हामीलाई विरुवा उत्पादन गर्न वृक्षारोपन पहल नेपाल संस्था विगतका दिनदेखि निरन्तर सहयोग गर्दै आउनु आएको बताउनुभयो । उहाँले हाम्रो सामुदायिक वनभित्र उत्पादन भएको करिब एकलाख विरुवा यसवर्ष हामीले देउखुरी क्षेत्रभित्र रहेका विभिन्न सामुदायिक वनक्षेत्रमा वृक्षारोपन गर्ने योजना बनाएका बताउनुभयो ।
यता लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पूर्व अध्यक्ष डण्डीराम चौधरीले वर्षायाममा भन्दा खडेरीमा पानीको हाहाकार मच्चिन थालेपछि मुहान संरक्षण गर्न वृहत् रुपमा वृक्षारोपण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वृक्षारोपण गर्दा पानीका मुहान संरक्षण हुने र वातावरण पनि स्वच्छ हुने भएकाले सामुदायिक वनको सहयोग तथा सक्रियतामा खानेपानी संस्थाले वृक्षारोपण गर्न जरुरी रहेको बताउनुभयो । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षता एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन रिजालको विशिष्ट अतिथिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव बसन्त आचार्यले गर्नुभएको थियोे ।।
