दाङ १४ साउन । विभिन्न ९ बुँदे माग सहित निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशले आइतबार लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली चौधरीको कार्यकक्ष अगाडी धर्ना दिएको छ । संघका कार्यबाहक अध्यक्ष दिनेश हमालको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले मुख्यमन्त्रीको कार्यालय र संसद भवनको अगाडी धर्ना दिएको थियो । केही दिन अगाडी महासंघले लुम्बिनी प्रदेशमा ज्ञापनपत्र बुझाएको थियो ।
महासंघले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालय अगाडी ९ बुँदे माग राखेर धर्ना दिएको हो । महासंघले सरकारसँग विभिन्न निकायमा काम गरे वापतको रकम तुरुन्त भुक्तानी हुनुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याथ थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, अव्यवहारीक माइलस्टोन खारेज गर्नुपर्ने, बीमा निर्देशिका–२०७८ खारेज गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर्नुपर्ने, सार्बजनिक खरिद ऐन तथा नियमावली तुरुन्त सन्शोधन हुनुपर्ने, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागु गर्नुपर्ने, निर्माण व्यवसायी एकता बलियो बनाउनुपर्ने, गुणस्तर र समयमा निर्माण कार्य पुरा गर्ने प्रतिबद्धतासहित प्रदेश मन्त्रालय अनि मुख्यमन्त्री भएका ठाउँहरुमा धर्ना दिएको हो ।
लुम्बिनी प्रदेश मन्त्रालयमा धर्ना कार्यक्रममा महासंघ लुम्बिनीका उपमहासचिव बिनय ज्ञवाली, प्रदेश सदस्यहरु कुलबहादुर वली, उमाकान्त घिमिरेलगायतको सहभागिता रहेको थियो । यसैबीच निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशले प्रदेशमा क्रियाशिल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरुलाई ज्ञापनपत्र बुझाएको छ । कार्यबाहक अध्यक्ष दिनेश हमाल, उपमहासचिव बिनय ज्ञवालीको नेतृत्वमा गएको टोलीले दललाई विभिन्न मागहरु सहितको ज्ञापनपत्र बुझाएको हो ।
यता यस विषयमा निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानासँग टेलिफोन सम्पर्क गर्दा उहाँले पहिलो चरणको संघर्षको कार्यक्रममा आफूहरु शान्तिपूर्ण तरिले अगाडी बढेको र देशभरका निर्माण व्यवसायीहरुले विभिन्न माग राखेर आन्दोलन गर्दा समेत सरकारले आफूहरुको माग पुरा नगरेमा अर्को चरणबाट कडा संघर्षको कार्यक्रमसहित महासंघ आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो ।