विभिन्न माग राख्दै दाङ निर्माण व्यवसायी संघद्धारा ज्ञापन पत्र बुझाईयो

चन्द्रप्रकाश नेपाली

घोराही, साउन ।

दाङ निर्माण व्यवसायी संघ दाङले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाईएको छ । निर्माण कार्य गरे बापत्को रकम ब्याजसहित भुक्तानी पाउनु पर्ने लगाएतका ९ बुदे माग राख्दै संघका जिल्ला अध्यक्ष प्रविणकुमार भण्डारीले दाङका प्रमुख जिल्ला अधिकारी शुशिल बैद्यलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

ज्ञापन–पत्र बुझाएको एक हप्ताभित्र मागको सम्वोधन नभए आन्दोलनलाई दाङसहित देशैभर थप शसक्त बनाउदै लैजाने निर्णय भएको अध्यक्ष भण्डारीले जनाउनु भएको छ ।

अध्यक्ष भण्डारीको नेतृत्वमा पुगेको दाङ निर्माण व्यवसायी संघ दाङको टोलीले प्रमुख जिल्ला अधिकारी बैद्यलाई बुझाएको ज्ञापन पत्मा सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्र्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनु पर्ने, स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मुल्य अभिबृद्धि करको कट्टा गरेको रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनु पर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने र उद्योग मैत्री हुने गरि तत्काल कानूनमा संशोधन गर्नु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

साथै आफ्ना मागहरु पुरा नभए आन्दोलनका कार्यक्रमलाई धर्ना बस्नेदेखी लिएर थप सशक्त बनाउदै लैजाने अध्यक्ष भण्डारीले बताउनु भएको छ । आन्दोलनका कार्यक्रम अन्तरगत मंगलबार सात प्रदेश महासंघहरुले मुख्य मन्त्रीलाई र ७७ जिल्ला संघहरुले जिल्ला स्थित जिल्ला प्रसाशन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाईएको जनाएको छ ।