काठमाडौं, २६ असार । लुक्लाबाट काठमाडौं फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ ।
३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको जानकारी दिनुभयो । अनुभवी पाइलट चेतबहादुर गुरुङले चलाउनुभएको नाइनएनए/एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको हो । गुरुङ निकट स्रोतका अनुसार उहाँले सन १९९८ देखि उडान शुरु गर्नुभएको थियो । पछिल्लो १० वर्ष यता ५४ वर्षीय गुरुङ मनाङ एयरमा आबद्ध हुनुभएको थियो ।
वडाध्यक्ष लामाले अहिले दुर्घटनास्थलमा प्रहरी पुगिनसकेको पनि बताउनुभयो । गाउँलेहरू अहिले घटनास्थलमा पुगी उद्धारमा जुटेका छन् । हेलिकप्टर र दुर्घटनास्थल हेर्दा हेलिकप्टरमा सवार यात्रुको जीवित उद्धारको सम्भावना कम रहेको उहाँको भनाइ छ । हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक र एकजना क्याप्टेन छ ।