दाङ, असार ।समुन्द्र सतहबाट लगभग २१०० मिटरको उचाइँमा रहेको प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा अवस्थित स्वर्गद्वारी साँच्चिकै सुन्दर, शान्त,रमणीय र अलौकिक स्वर्गतुल्य छ। महाभारत कालमा पाँच पाण्डव स्वर्ग जाने क्रममा यज्ञ गरेको स्थान भएकोले स्वर्गद्वारी नाम रहन गएको भन्ने लोकमान्यता छ। विसं १९१६ साल श्रावण शुक्ल एकादशीका दिन साविकको सखी गाविस वडा ९ रून्टी रोल्पाको गौतम (खत्री) परिवारमा जन्मनु भएका महाप्रभु ( बाल्यकालको नाम नारायण) जन्मको छैठौं दिनमा आमाले मासु खाएको थाहा पाएर आमाको दूध खान छाड्नुभएछ।
तत्पश्चात गाईको दूध खाएर महाप्रभुको भौतिक देह हुर्किए छ। महाप्रभु सानैदेखि विलक्षण प्रतिभा भएको र अपत्यारिला (सामान्य रुपमा बालकले गरेको हो भनेर पत्यार लाग्न नसक्ने) क्रियाकलाप गर्नुभएको कुरा अहिले पनि सुन्न पाइन्छ। महाप्रभु सानै उमेरमा गाउँ नजिकैको ओडारमा ध्यान÷तपस्या गर्न थाल्नुभएछ। महाप्रभुको यस्तो गतिविधिले बुवाआमालगायत आफन्तजन चिन्तित हुनुहुन्थ्यो रे। आफ्नो सानै उमेरको छोराको विलक्षण गतिविधि देखेर बुवाआमालाई चिन्ता लाग्नु स्वाभाविक नै थियो। साक्षात् नारायणको जन्म आफ्नै घर गाउँमा भएको बुवाआमा र आफन्तजनलाई कसरी थाहा हुन्थ्यो र?
भनिन्छ घरपरिवार र आफन्तहरूको दबाबबाट टाढा हुन महाप्रभुले आफूलाई कुष्ठरोग लागेको लीला पनि गर्न परेको थियो। गाउँमा कहिले आफन्त परिवारहरूको संसारिक मोहजालको दबाब त कहिले कुटी बनाएको गोठै जलाइदिने जस्ता घटनाले महाप्रभु विसं १९५१ सालमा स्वर्गद्वारी क्षेत्रमा आइपुग्नुभयो। स्वयं नारायणको अंशका रूपमा जन्मनुभएका महाप्रभु सम्पूर्ण ज्ञानले भरपूर हुनुहुन्थ्यो नै, साथै त्यो समय सम्ममा महप्रभुका चेलाहरू पनि बनिसकेका थिए। तत्कालीन समयमा हालको स्वर्गद्वारी ठूलै जंगलक्षेत्र भएकाले गोठालाहरूको गाईगोठ चरिचरण क्षेत्र थियो ।
महाप्रभुले गोठालालाई महाभारत कालमा पाँच पाण्डवले यज्ञ गरेको पवित्रस्थल हो यो, म यहाँ यज्ञ सुरू गर्छु। तपाईंहरूले गोठ सार्नुहोस भनेर अनुरोध गर्नुभएछ। तर गोठालाले नपत्याए पश्चात उक्त स्थानमा खनेर हेर्दा पुरानो यज्ञस्थल र यज्ञ सामग्रीहरू भेटिएछन्। उक्त घटनापश्चात् गोठाला गोठसार्न मन्जुर भएछन्। अनि उक्त स्थानमा महाप्रभुले वैदिकविधि मन्त्रोच्चारणका साथ विसं १९५२ साल वैशाख पूर्णिमाका दिनबाट विश्वशान्तिका निम्ति अखण्ड महायज्ञ सुरू गराउनुभयो।
वैदिक मन्त्रोच्चारणबाट यज्ञ गरिरहेकै समयमा ब्राह्मण टीकाराम गौतम मुखबाट अग्नि उत्पन्न भयो। सोही पवित्र यज्ञस्थलमा सोही पवित्र अग्निलाई अखण्डित राख्दै हालसम्म वैदिक विधिपूर्वक अखण्ड महायज्ञ सञ्चालित हुँदै आएको छ। यसबाहेक स्वर्गद्वारीका अन्य धेरै महत्वपूर्ण कुरा उजागर हुन् बाँकी छन्। स्वर्गद्वारी पुगेर सिक्न बुझ्न र हेर्नलायक अन्य धेरै पक्ष र पाटा पनि छन्। तथापि यहाँ मुख्य–मुख्य कुरा बुँदागत रूपमा राखिएको छ ।
स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न भक्तजनहरुको भीड बढ्दै गएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट आउने तीर्थालुहरुमा मन्दिरप्रतिको आस्था र विश्वास बढेपछि दैनिक हजारौं भक्तजन मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।
भारतको छपरा जिल्लाबाट आएका हट्ठीलाल यादवले स्वर्गद्वारी महाप्रभुको दर्शनपछि छोरा जन्मिएपछि पुनः दर्शन गर्न आएको बताए । यादवजस्तै थुप्रै भक्तजन अहिले स्वर्गद्वारीमा आउनेहरुको भीड लागेको छ । दर्शनार्थी धेरै भएपछि उनीहरुलाई बास बस्न समस्या हुन थालेको छ ।
पहिले यात्रुहरु खुला चउरमा सुत्थे तर घोराहीका ध्रुव श्रेष्ठका परिवारलगायतले केही धर्मशालाहरु निर्माण गरिदिएपछि धेरै सहज भएको तर भक्तजन धेरै हुँदा अझै समस्या हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरका ब्यवस्थापक वासुदेव भट्टराई भन्नुहुन्छ– ‘कहिलेकँहीं रातिमा एक दुई बस दर्शनार्थी आउँछन् त्यस बेला उनीहरुलाई ब्यवस्था मिलाउन गाह्रो हुने गरेको छ ।
प्रभु महाराजद्वारा १९५२ सालमा शुरु गरेको यज्ञशाला निरन्तर सञ्चालन भइरहेको छ । यज्ञशाला सञ्चालनका लागि चाहिने धर्मशाला, पाठशाला गौशाला र पाकशाला भक्तजनहरुबाटै आवश्यकता पूर्ति हुँदै आएको मन्दिर समितिले जनाएको छ ।
आश्रमको प्रांगणमा २०५२ सालदेखि शुरु गरिएको बाल तपस्वी बेद बिद्यालय गुरुकुलममा संस्कृत, अंग्रेजी र गणित विषयको पढाइ हुने गर्छ । जसबाट मन्दिरलाई चाहिने पुजारी , बेद वाचक, पुरोहितको आवश्यकता पूर्ति तथा विद्यार्थीको नैतिक जीवनका साथै त्यहाँ पढेका विद्यार्थी इन्जिनियर तथा विदेशमा गएर राम्रो काम पाउन सक्ने क्षमतावान बन्न सक्ने कुरा गुरुकुलका प्रमुख पुरुषोत्तम घिमिरेले बताउनुभयो ।