महोत्तरीमा गोली प्रहारबाट एक जना घाइते

महोत्तरी,२० असार । महोत्तरीमा गोली प्रहारबाट  एक जना घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसबिट्टीमा मङ्गलवार बेलुकी आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो । घाइते यादवको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउन्ड गोली प्रहार गरेका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक सई सुमन सिंहले जानकारी दिनुभयो ।

घाइते यादवको कन्चट नजिक र दाहिने कुममाथिको भागमा गोली लागेको छ । गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।  कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ । घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, तीन थान गोलीको खोका बरामद गरेको छ ।