चौधरी बने लुम्बिनीका नयाँ मुख्यमन्त्री

दाङ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रसहित ८ दलीय गठबन्धनका ५३ जना सांसदको हस्ताक्षरसहित चौधरीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख अमिककुमार शेरचनले चौधरीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ शुक्रबार हुने कार्यक्रम छ।

शेरचनले बिहीबार दिउँसो ४ बजेसम्मको समयभित्र दाबी पेश गर्नको लागि आह्वान गरेका थिए। नेता चौधरीले तेश्रो पटक मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

नेकपा एमालेका नेता लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।