परासी — पश्चिम नवलपरासीको सुनवलमा स्थानीय तहको चुनाव बहिष्कार अभियान चलाउने नेकपा क्रान्तिकारी माओवादीका १० जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
चुनाव बहिष्कार अभियान चलाउने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिं श्रीससहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनेश्वर पोख्रेल, क्रान्तिकारी पत्रकार महासंघ महासचिव रवि पाण्डेय, पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल, जिल्ला सदस्यहरू कमल तमु, रवि पुन, गुणनिधि पोख्रेल, मोहनलाल शर्मा सुनवल नगर सदस्य ऋषिराम विक र नेवा मुक्ति मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धरलाई गिरफ्तार गरेको नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय सुनवलमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रेम शाहीले बताए ।