दाङको लमहीस्थित मस्जिदमा अपरिचित समूहले आक्रमण गर्दा ८ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका थिए ।
अपरिचित व्यक्तिहरूको समूहले मज्जिद परिसरमै धारिलो हतियार र इँटा प्रहार गर्दा आठजना घाइते भएको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए ।
घाइते हुनेहरूमा लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी, ३३ वर्षीय अरसद अली, सववीर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अलि, ४२ वर्षीय मोहम्मद याकदिन अलि रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइतेमध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ ।
आक्रमण गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।