झन्झटबिना सेवा प्रवाह गर्ने र नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने

ओमप्रसाद सुबेदी (सागर)
वडाध्यक्ष ः लमही नगरपालिका वडा नं. ५
लमही नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा निर्वाचित हुनु भएको ओमप्रसाद सुबेदी (सागर) लाई ५ नं.वडाबासीहरुले आसलाग्दो वडाध्यक्ष रुपमा हेर्नूभएको छ । सक्रिय राजनीतिमा लागेको छोटो समयमा धेरै फट्को मार्नुभएको हो । उहाँ २०७९ सालमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभयो । गएको एकवर्षको बिचमा यहाँले वडामा गरेको अनुभव बारे गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी प्रमुख शिवु खनालले लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर) संग गर्नुभएको कुराकानी ः
१, एक वर्षमा के–के गर्न सकिँदो रहेछ ? चुनावमा गरेका प्रतिबद्धता कति पूरा भए ?
निर्वाचित भएर आएपछि कार्यभार सम्हालेको एक वर्ष बितेको छ । मैले यो एक वर्षलाई अनुभव र जानकारी हासि ल गर्ने वर्षका रूपमा लिएको छु । हामीले भोट माग्दा गर्छौं भनेका कुरा निर्वाचित भएपछि उठाएका छौँ । वडाबासीका लागि क्षमतावृद्धि, आयआर्जन, सिपमूलक, उत्पादनमूलक तालिम प्रशस्तै दिइरहेका छौँ । धेरै सोचेका छौँ आत्मनिर्भरताका लागि आवश्यक लक्षित काम सुरु गर्दै छौँ । जुन विश्वासले मलाई जिताउनुभयो त्यसलाई पूरा गर्न खटेर काम गर्ने, प्रदेश र संघबाट बजेट ल्याउन लागि परेको छु । यहाँको सुकुमवासी तथा अव्यवस्थितको समस्या समाधान गर्नका लागि नापजाँच गर्ने काम भएको छ । यसलाई पनि हामीले उपलब्धिका रूपमा लिएका छौँ । विगतमा सम्पन्न हुन नसकेका धेरै आयोजना सम्पन्न गरेका छौँ । यो पनि मुख्य उपलब्धि हो । चुनावमा गरेका प्रतिवद्धा विस्तारै पुरा हुन्छ । अजम्मरी ताललाई प्राकृतिक सौन्दर्य थपेर विकास गर्दै छौँ, जैविक विविधता ग्रिनपार्कलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पक्की बाटो बनाउँदै छौँ । अबको बाँकी रहेको चार वर्षमा पनि राम्रै गर्छौं ।
२, अलग अलग पार्टीबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्य हुनुहुन्छ, यसअघि एउटै पार्टीका वडाध्यक्ष र वडा सदस्यको बेमेल थियो, तपाईंहरूको के कस्तो छ ?
कस्तो गजव प्रश्न सोध्नु भयो यहाँले । बेमेल गर्नुपर्ने कारण केही छैन । वडाको बैठकमा छलफल गरेर निर्णय गर्छौं । आआफ्नो क्षेत्राधिकारमा बसेर काम गरिरहेका छौँ । चुनाव लड्दा अलग अलग पार्टी भए पनि निर्वाचित भइसकेपछि जनताको काम गर्ने हो मिलेर गर्ने गरेका छौँ ।
३, यो वडामा के कस्ता समस्या र चुनौती रहेको पाउनुभयो ?
गएको एक वर्षको अनुभव र अध्ययनका आधारमा हेर्ने हो भने लमहीमा विशेष गरी कोलही पश्चिम तर्फ बर्खाको समयमा डुबान हुने, छाडा पशुचौपायाको समस्या, ट्राफिक व्यवस्थापन, फोहर व्यवस्थापन, शिक्षाका लागि सञ्चालनमा रहेका विद्यालयहरूको दयनीय अवस्था, उपचारका लागि खोलिएका स्वास्थ्य संस्थाहरूको सही व्यवस्थापन नहुने जस्ता धेरै समस्या चुनौतीका रूपमा रहेको पाएको छु । यसका लागि हामीले एउटा टिम नै बनाएर विस्तृत अध्ययन गरेका छौँ । वडा सरकारसँग जनताको अपेक्षा धेरै रहेको पाइएको छ, जुन स्वाभाविक पनि हो । हामीले यी सबै समस्या र चुनौतीलाई समाधान गर्न आगामी चार वर्ष धेरै मेहनत र परिश्रम गर्नुपर्ने छ । त्यसका लागि हामीले तयारी सुरु गरिसकेका छौँ ।
४, वडाका सबै क्षेत्रमा सडक सञ्जाल पुगेको छत, भौतिक पूर्वाधार तर्फ के कस्ता काम भएका छन् त ?
सायद नगरको ५ नं. वडा होला सबैभन्दा बढी सडक सञ्जालले जोडिएको । र अर्को कुरा अब आउने चारवर्षमा सबै वडालाई जोड्ने गरेर टिकाउ हुने रोड बनाउने भन्ने छ । आवश्यकता र प्राथमिकतालाई हेरेर सडक बनाउनु पर्दछ । जस्तै सडक बनाउँदै गर्दा लाभान्वित हुनेको संख्या कति ? वा त्यससँगै समदूरीमा अर्को सडक छ तैपनि हामीले अर्को रोड बनाइरहेका छौँ । त्यो चाहिँ भएन अलिकति वैज्ञानिक हिसाबले सोच्नु पर्छ । हामीले यही बजेटमा पनि वडाको गौरवको र बहुवर्षीय योजनाको समीक्षा गर्छौं । अहिलेसम्म काम कति भयो, यतिका दिनसम्म किन पूरा भएन, के कारणले रोकियो, वडाको गौरवको योजना भनेर कति वर्षसम्मको अवधि हो त ? वडाको गौरवको योजना भन्दैमा वर्षौंवर्षसम्म एउटै सडक बनाइरहने पनि वडाको प्राथमिकता हैन होला नि । त्यो कुरामा वडाको बैठकमा लगेर समीक्षा गर्छौं । त्यसबाट जे निर्णय वा सुझाव आउँछ त्यही अनुसार अगाडि बढाउँछौँ । अव भौतिक पूर्वाधार तर्फ भन्ने हो भने यो वर्षमा एक हजार मिटर कालोपत्रेको काम सम्पन्न भएको छ भने पन्ध्रसय मिटर पक्की नालाको काम सम्पन्न भएको छ । सडक तर्फ एकहजार मिटर ग्राबेल, उजालो वडाको लागि सडक बत्ति बिस्तार गरिएको छ । अजम्मरी सामुदायिक वन उभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रिन पार्कमाभित्र ढुङ्गे बगैंचा, पुष्प बगैंचा, पिकनिक र्पाक तथा सडक स्तोरउन्नती, स्वस्थ वडा निर्माणको लागि खुला ब्यामशाला निर्माणको लागि जीमका सामाग्री हस्तान्तरण गरिएको छ । बोटानिकल पार्कको निर्माणको काम अगाडि बढेको छ ।
५, वडा सरकारले सुरु गरेका गौरवको योजना साँच्चिकै गौरव गर्न लायकका बन्छन्, त्यो पनि तपाईंको कार्यकाल अवधिमा ?
अब यसमा हामीले दुई वटा कुरा भनेका छौँ । एउटा, पुराना गौरवका योजनाको समीक्षा गर्ने, नयाँ पनि नियमित गर्ने । मेरो भनाइ चाहिँ सडक मात्रै गौरवको आयोजना होइन, खेलकुद पनि हुन सक्छ । कुनै हस्पिटल, स्कुल, कलेज पनि हुन सक्छ । मेरो भनाइ अहिलेसम्म वडाका गौरवका आयोजना भनेर खाली सडक बनाउने काम भएको छ । म आएँ, मैले एक÷दुई वटा उद्घाटन गर्ने, अर्को आउँदा अर्कोले दुई÷तीन वटा उद्घाटन गर्ने, शिलान्यास मात्रै गर्ने त्यसपछि कहिल्यै नबन्ने जस्तो काम नहोस् भन्ने बुझाइ मेरो हो । जस लिने नाममा खाली घोषणा मात्रै गर्ने काम अब छोडौँ । हुने खालको काम गरौँ । बरू एउटै किन नहोस् दिगो गरी सडक निर्माण गरौँ ।
६, अबको पाँच वर्षसम्ममा तपाईंले देखेको सपना र जनताको अपेक्षा पूरा हुन्छन् होला त
यस्तो हो, अब सबै कुरा त नसकिए पनि एउटा सिस्टम चाहिँ बस्छ । प्राथमिकता हेरेर गर्ने हो । वडाबाट गर्न नसक्ने भन्ने केही पनि छैन । गर्न सकिन्छ तर पहिलो प्राथमिकता दिनु पर्छ । त्यो अनुसार काम गरियो भने मैले मात्र होइन जनताको सपना पूरा हुन नसके पनि एउटा सिस्टम बन्छ र जो भोलि आउँछ उसलाई काम गर्न सजिलो हुन्छ । यहाँका जनतालाई मेरो वडा, मेरो सरकार भएको अनुभूति गराउँछौँ ।
७, समृद्ध वडाका लागि अबको चार वर्षको अवधिमा के के गर्ने योजना रहेको छ ?
समृद्ध वडा बनाउन अबको चार वर्षमा विशेष गरेर पूर्वाधार निर्माण जोड दिने छौँ । युवा उद्यमशीलतामार्फत युवालाई रोजगारी दिने लक्ष्य लिएका छौं । यहाँको सुशासन अत्यन्त अब्बल हुनु पर्छ, हरेक कुरा नियमसङ्गत हुनु पर्छ । स्थानीय तह भनेको सेवा प्रवाह गर्ने निकाय हो । कुनै पनि नागरिकले सेवा पाउन झन्झटिलो भयो भन्ने महसुस हुनुहुँदैन । झन्झटबिना सेवा प्रवाह गर्ने र नागरिकलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने, वित्तीय सुशासन कायम गर्ने, पूर्वाधारको क्षेत्रमा वडालाई योजनाबद्ध रूपमा अगाडि बढाउने र वातावरणीय हिसाबले स्वच्छ, सफा, सुन्दर, सुशासनयुक्त वडा बनाउने योजना बनाएका छौँ ।
८, अन्त्यमा केही भन्नु छ भने ?
वडाबाट सेवाग्रहीहरुलाई सेवा प्रदान गर्ने क्रममा कहिलेकाही भुलबस केही तलमाथि हुन पुगेमा क्षमाप्रार्थी छु । साथै निर्वाचनका बेला मसंग प्रतिस्पर्धामा उत्रिनु भएका उम्मेदवारहरु, पूर्व वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको पूर्णरुपमा साथ रहेको र आगामि दिनहरुमा उहाँहरुको समग्र वडाको विकासमा साथ र सहयोगको अपेक्षा समेत गर्दछु । सबैभन्दा त धेरै धेरै धन्यवाद दिन चाहान्छु हजुरलाई । किन भने मेरो एकवर्षको अनुभव र वडाका सम्पूर्ण गतिविधि तपाईको संचार मध्यमबाट जनताको माझ पु¥याउन यो मिठो भुमिका निर्वाह गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु र आगामि दिनहरुमा पनि यहाँहरुको साथ र सहयोगको लागि अपेक्षा गर्न चाहान्छु ।।