कृषिलाई पर्यटनसँग जोडेर अगाडि बढेका छौँ

                                                  दामोदर पौडेल
                                                 वडाध्यक्ष ः लमही नगरपालिका वडा नं. १

पहाडी क्षेत्रमा रहेको सितलापुर, बसन्तपुर गाउँ लमही नगरपालिका वडा नम्बर १ मा पर्छ । धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिएको आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ सितलापुर गाउँ । यसको ऐतिहासिक महत्व त छँदै छ, एक वर्षमा भएगरेका कामबारे गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी प्रमुख शिवु खनालले स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएका लमही नगरपालिका वडा नम्बर १ का वडाध्यष दामोदर पौडेललसंग गर्नुभएको कुराकानी ः
१, तपाईं निर्वाचित हुनुभएको एक वर्ष पूरा भइसकेको छ, यो अवधिमा के कस्ता काम अगाडि बढाउनुभयो ?
हामी निर्वाचित भएर आएपछि वडालाई समृद्ध बनाउनेतिर लागेका छौँ । पक्की सडक, सडक नभएको ठाउँमा ट¥याक खोल्ने, सडक स्तरोन्नति गर्ने काम तयार भएको छ । खानेपानी योजनाका कामहरु धमाधम अगाडि बढेका छन् । सिलापुर, बसन्तपुर गाउँमा खानेपानी पु¥याउन २५ लाखको पाइप खरिद गरिएको छ । अहिले वडाका सबै गाउँमा समान विकासको धारणा अनुसार एक वडा एक खेल मैदान, एक वडा एक धारा, एक वडा एक बाल उद्यानलगायतका संरचना धमाधम निर्माण भइरहेका छन् । हाम्रो सडक, राम्रो सडक जस्ता जनमुखी नारासहित काम भइरहेका छन् ।
२, यो एक वर्षको अनुभवले वडाको विकासका कस्ता चुनौती पाउनुभयो ?
पहिलो वर्ष त सिकाइकै वर्ष हुने रहेछ तर पनि स्पष्ट बहुमतका साथ निर्वाचित भए पनि चुनौती र समस्या धेरै आउँदा रहेछन् । लामो समय काम गरेका स्थानीय तहका कर्मचारीको सरुवाको व्यवस्था नहुँदा त्यहाँ अराजकता मौलाउने रहेछ, त्यसैले कर्मचारीलाई सरुवा गर्न सकिने प्रावधान हुनु अनिवार्य छ । नयाँ जनप्रतिनिधिका लागि विभिन्न तत्वबाट फसाउने षड्यन्त्र हुँदो रहेछ । निर्वाचित भएर काम सुरु गरेको एक आर्थिक वर्ष पुगेको छैन, ज्ञात, अज्ञात उजुरीकर्ताबाट भए÷नभएका काममा समेत अख्तियारमा सयौँ निवेदन दिइएका छन् ।
३, चुनावी घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धता कति पूरा भए त ?
चुनावताका वडावासीसँग जुन प्रतिबद्धता व्यक्त गरेका थियौँ, ती पूरा गर्नेतर्फ नजिक पुग्दै छौँ । मतदातालाई दिएको आश्वासन, विश्वास तलमाथि हुने छैन । समग्र वडालाई समृद्ध बनाउने आधार तयार पार्दै छौँ । वडावासीहरु शतप्रतिशत विद्युत्को पहुँचमा छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन, वन, वातावरण, सामाजिक सुरक्षा, विपत् व्यवस्थापन, खेलकुद, पूर्वाधारलगायतमा विशेष ध्यान दिइएको छ ।
४, भौतिक पूर्वाधारमै बढी महत्व दिनुभएको देखिन्छ, अरू क्षेत्र ओझेलमा परेका त छैनन् ?
भौगोलिक विकटता भएका गाउँमा भौतिक पूर्वाधार नै समृद्धिको पहिलो खुट्किलो हुन्छ । सडक, बिजुली, सिँचाइ, सञ्चार, खानेपानी, खेलकुदलगायतका विषय नै अगाडि आउँछन् । तर पनि भौतिक पूर्वाधारसँगै सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमा सुधार ल्याउन उत्तिकै ध्यान दिइएको छ । कृषि तथा पशुपालनबाट आय आर्जन र रोजगारी दिलाउन ५० प्रतिशत अनुदानको व्यवस्था मिलाइएको छ । बालबालिका, महिला, ज्येष्ठजन र अपाङ्गता भएका व्यक्तिलाई समेत कार्यक्रमले सम्बोधन गरेको छ ।
५, स्थानीय स्रोतसाधन परिचालन र जनसहभागिता नै स्थानीय विकासको मूल आधार हो, यसतर्फ ध्यान गएको छ कि छैन वडाले ?
वडाले स्थानीय स्रोतसाधन परिचालनलाई प्राथमिकतामा राखेको छ । योजना छनोट तथा कार्यान्वयनमा पनि वडावासीको सहभागितालाई ध्यान दिइएको छ । योजना कार्यान्वयनमा पनि वडावासीको महत्त्वपूर्ण भूमिका रहन्छ ।
६, तपाईंका भावी कार्यक्रम के–के छन् ?
मेरो मुख्य लक्ष्य भनेकै लमही नगरपालिका वडा नं.१ लाई ऐतिहासिक, पर्यटकीय, कृषि, स्वास्थ्य र शैक्षिक हबका रूपमा विकास गर्नु रहेको छ । वडामा लथालिङ्ग अवस्थामा रहेको शैक्षिक क्षेत्रलाई पहिलो वर्ष सुधार गर्ने प्रयास गरियो । स्वास्थ्य क्षेत्रको सुधारमा पनि पाइला चालियो । दोस्रो वर्षको प्राथमिकता कृषि तथा पर्यटनतर्फ हुने छ । पर्यटकीय क्षेत्रको विकाससँगै सितलापुर गाउँमा होमस्टे बनाएर विभिन्न समुदायहरुको संस्कृतिको जगेर्नासमेत गरिने छ ।
७, कृषि यहाँको मुख्य क्षेत्र हो, यस क्षेत्रमा के–के गर्दै हुनुहुन्छ ?
हामीले पाँचवर्षे आवधिक योजनामा कृषिलाई प्राथमिकता दिएको छौँ । कृषि उत्पादन बढाउन उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन भइसकेको छ । यसले किसानलाई कृषि उत्पादनमा जोड दिन प्रोत्साहित गर्ने गरेको छ । हाम्रो अनुदानबाट वास्तविक किसान मात्र लाभान्वित हुन्छन्, अनुदानको दुरुपयोग छैन ।
८, तपाईंले काम गरिरहँदा चुनौती के के आएका छन्, कसरी समाधान गर्नुहुन्छ ?
मुलुक पछाडि पर्नुमा काम गर्ने संस्कृतिको विकास नहुनु नै हो । त्यसकारण चुनौतीलाई अवसरमा लिने गरेको छु । काम पाइएन भनेर दिनभरि गफ चुटेर बस्ने तर आफ्नो खेतबारी बाँझै राख्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । हाम्रो राप्ती र खहरे खोलाको बाढीको जोखिम छ । त्यो चुनौतीको सामना गर्न विभिन्न सरकारी, गैरसरकारी संस्थासित समन्वय र सहकार्य गरेर व्यवस्थापनको प्रयास गरिरहेका छौँ ।
९,पाँचवर्षे कार्यकालको बाँकी अवधिमा तपाईंको सोच के छ ?
जनताको अपेक्षा पूरा गर्नेतर्फ हामी ध्यान दिने छौँ । वडामा सडक पुगेको छ । अब ती स्थानमा कालोपत्रे गर्ने, बिजुली नपुगेको स्थानमा बिजुली पु¥याउने काम हुने छ । पोल गाड्ने र तार टाँग्ने काम भएकाले एकवर्ष नपुग्दै बिजुली बल्ने छ । किसानलाई व्यावसायिक तरकारी खेतीका लागि तालिम, उन्नत बिउ, बजारको व्यवस्था मिलाउने छौँ । वडाबाट हुने सेवा सहज बनाई जनताको गुनासो सुन्ने र त्यसको समाधान गर्ने कामलाई छिटोछरितो बनाउने योजना छ ।।
१०, अन्त्यमा केही राख्नुपर्ने कुरा छुटेयो की ?
मैले मेरो वडाबासीहरु विकासको क्रममा सबैले हातेमालो गरेर अगाडी बढ्न अनुरोध गर्दछु । विकासमा हामी सबै एकजुट हुन आवश्यक छ । मेरो एकवर्षको अनुभव, वडाका सम्पूर्ण गतिविधिहरु तपाईको संचार माध्यमबाट जनतामाझा पु¥याउन सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु । साथै यहाँहरुको साथ र सहयोग अन्य दिनहरुमा पनि रहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।।