नेपाल निर्वाचनः स्थानीय चुनावका लागि ठूलो सङ्ख्यामा उम्मेदवारी, धेरै उम्मेदवार हुँदा के फरक पर्छ

५ घण्टा पहिले

तस्बिर स्रोत,RSS

स्थानीय तहका लागि निर्धारित दुई दिनभित्र ठूलो सङ्ख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ।

विवरणहरू रुजु गर्ने काम भइरहेको र मङ्गलवार साँझसम्म उम्मेदवारको वास्तविक सङ्ख्या आउने आयोगका अधिकारीहरूले बताएका छन्।

मङ्गलवार मध्याह्णसम्मको तथ्याङ्कअनुसार उम्मेदवारी रुजु गरिएका उम्मेदवारको सङ्ख्या एक लाख ४४ हजार नाघेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार २०७४ सालको स्थानीय चुनावमा डेढ लाखभन्दा केही बढीले उम्मेदवारी दिएका थिए।

धेरै उम्मेदवार हुँदा के हुन्छ?

यसपालि अघिल्लो चुनावमा भन्दा बढी उम्मेदवारी परेको अनुमान अर्यालले गरेका छन्।

“यसो ट्रेन्ड हेर्दा पौने दुई लाखदेखि पौने तीन लाखसम्म उम्मेदवारी परेको हाम्रो अनुमान छ,” बीबीसीसँग उनले भने।

कतिपयले चाहिँ उम्मेदवार धेरै हुँदा चुनौती थपिन सक्ने आशङ्का व्यक्त गरिरहेका छन्।

“यदि कहीँ चुनाव चिह्नभन्दा उम्मेदवार बेसी भए भने त आयोगले त्यस्ता ठाउँमा फेरि मतपत्र छाप्नुपर्ने हुन्छ,” भूतपूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले बीबीसीसँग भने।

तस्बिर स्रोत,RSS

“उम्मेदवारी स्वीकार गरिसकेपछि चुनाव चिह्न नदिने कुरा हुँदैन। त्यस्तो अवस्थामा मतपत्र पुनः छपाएर पनि आयोगले चुनाव गराउनुपर्ने हुन्छ।”

मतपत्र लामो हुँदा आफूले चाहेको उम्मेदवारको चुनाव चिह्न फेला पार्ने मतदातालाई पनि गाह्रो हुने उनी बताउँछन्।

“चुनाव चिह्नहरू सानो आकारमा हुन्छन् जसले गर्दा आफ्नो उम्मेदवारको चिह्न भेटाउन मतदातालाई गाह्रो हुन्छ। मत पनि बदर हुने सम्भावना पनि उत्तिकै रहन्छ,” पोखरेलले भने।

यद्यपि धेरै ठाउँमा त्यस्तो अवस्था नआउन सक्ने आयोगको प्रारम्भिक अनुमान छ।

तस्बिर स्रोत,RSS

“के गर्न सकिन्छ भनेर हामीले विश्लेषण गरिरहेका छौँ, कुनकुन पालिकामा पुनः मतपत्र छपाउनुपर्ने हुनसक्छ भनेर हेर्दैछौँ। त्यसकै कारण चुनाव सर्ने कुरा हुँदैन,” आयोगस्थित सूचना सम्प्रेषण अधिकारी तुलसीबहादुर श्रेष्ठले बीबीसीसँग भने।

कुन पदमा कतिले उम्मेदवारी दिए?

आयोगले मङ्गलवार १२:३० बजे सार्वजनिक गरेको विवरणअनुसार १,४४,४१६ जनाको मनोनयन दर्ता रुजु गरिएको छ।

त्यसअनुसार सातवटै प्रदेशमा प्रमुख पदमा ३,३७५ र उपप्रमुख पदमा २,०६९ जनाले उम्मेदवारी दिएको देखिन्छ।

अध्यक्ष पदका लागि ३,३३४ र उपाध्यक्ष पदका लागि २,३६४ जनाले तथा ३३,९७९ जनाले वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका छन्।

अहिलेसम्म रुजु गरिएका उम्मेदवारमध्ये २४,७९२ जना महिला सदस्य रहेको आयोगको तथ्याङ्क छ।

तस्बिर स्रोत,RSS

कति पदका लागि प्रतिस्पर्धा?

देशभरिका ७५३ स्थानीय तहअन्तर्गत कुल ३५,२२१ पदका लागि मतदान हुँदैछ।

नेपालमा छवटा महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका छन्।

मतदानका लागि आयोगले देशैभरि १० हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकेको छ।

वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

तस्बिर स्रोत,PRADEEP RAJ ONTA/RSS

तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेका छन्।

सबै स्थानीय तहमा एकै चरणमा हुन लागेको चुनावमा मतदान गर्ने दिन आउन अब १७ दिन बाँकी छ।