घोराही बनाऔं अभियानको सक्रियता

लुज फोरमकारुपमा केही महिना अगाडी मात्र खुलेको घोराही बनाऔं अभियान यतिबेला यस क्षेत्रमा आफ्नो सक्रियताका कारण सबै माझ चर्चाको विषय बनेको छ । घोराही अनि दाङको विकास, सुशासनको सवालमा आवाज उठाउँदै आएको घोराही बनाऔं अभियानले सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

सरोकारवाला निकायहरु समक्ष पुगेर ज्ञापनपत्र बुझाउनेसम्मका काम गरिरहेको अभियानले अफ्ठेरोमा परेकाहरुलाई साथसहयोग पनि गरिरहेको छ । यहीक्रममा घोराही बनाऔं अभियानले बुधवार घोराहीमा राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, पेशाकर्मी, शिक्षक, वद्यार्थी महिलाहरुबीच मैत्रीपूर्ण खेलकुद प्रतियोगिता गरेर सिर्जनशील कार्यको थालनि पनि गरेको छ । जिल्लामा क्रियाशिल सबै जसो राजनीतिक दल, स्थानीय सरकार, संघसंस्थाहरुमा आबद्ध महिलाहरुको बाकलो उपस्थिति कार्यक्रममा देखिनुले पनि घोराही बनाऔं अभियानको सार्थकता बढ्दै गएको आभाष भैरहेको छ ।

व्यवस्थित तवरले अभियानले खेलमैदानमै एम्बुलेन्सदेखि,स्वास्थ्यकर्मी एवं दर्जनौ दर्शकहरुको सहभागितामा भव्यरुपमा कार्यक्रमको आयोजना गरेर महिलाहरुबीचमा एकता अनि महिलाहरु पनि खेल क्षेत्रमा लाग्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । कुनै पनि खेलको आयोजना गर्नु चानचुने कुरा होइन । त्यसमा खेलाडीलाई पोशाक, नास्ता, बललगायतका थुप्रै कुराहरुको चाजोपाजो मिलाउन आयोजकलाई सधैभरि हम्मेहम्मे पर्दछ । तर आयोजकको सक्रियतालाई देखेर कतिपय सहयोगी निकायले हरेक कार्यक्रमलाई साथसहयोग गर्दछन् भन्ने कुरा घोराही बनाऔं अभियानको महिला मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा देखिएको छ ।

घोराही बनाऔं अभियान लुज फोरमकारुपमा रहेको छ । यसले नगरभित्रका सबै खाले गतिविधिहरु सही तवरबाट अगाडी बढ्नुपर्छ भन्ने कोणबाट आफ्ना गतिविधिहरु अगाडी बढाई रहेको छ । लुज फोरम भएपनि घोराही बनाऔं अभियान सामाजिक कार्यसँग पनि जोडिएर आफ्ना गतिविधिहरुलाई अगाडी बढाएकै कारण यसप्रति सबैको आकर्षण बढ्न थालेको हो । आर्थिक गतिविधिहरु नगरेपनि समाजमुखी कामहरु गर्ने हो भने अभियानले अगाडी बढाएका सबै खाले कार्यक्रमहरु प्रभावकारी बन्छन् । घोराही बनाऔं अभियान सार्थक तवरले सबैलाई गोलबद्ध बनाउँदै अगाडी बढ्न सकोस्, शुभकामना ।