माघमय थारु गाउँ

सन्तोष दहित
थारु बस्तिमा अहिले माघको रौनक छ । थारू समुदायले माघ पर्वलाई महान पर्व संगै नयाँ बर्षको रुपमा समेत मनाउने गर्दछन् । वितेको वर्षको समिक्षा तथा आगामी वर्षका योजना बनाउने र गाउँको नयाँ नेतृत्व चयन गर्ने जस्तो महत्पूर्ण कार्य गरिने भएकोले माघलाई सवैले चासोको साथ हेर्ने गर्दछन् ।
माघमा थारु समुदायका प्रत्येक घरमूली (गरढु¥या) मटाँवाको घरमा भेला हुन्छन् । भेलाले संसद् बैठकको झल्को दिन्छ । “सोही भेलाले नयाँ मटाँवा, अघवा र चौकीदार चयन गर्छ,” मटाँवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी भन्छन्, राजनीतिक दलले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका संचालन गरे जस्तै मटाँवाले गाउँका प्रशासनिक देखि न्यायिक, सामाजिक र विकासका हरेक कामको नेतृत्व गर्छ ।”

बर्षकै महत्वपूर्ण पर्व भएकाले माघ मनाउनको लागि समुदाय दुई साताअघिदेखि तयारीमा जुट्छन् । पुसको १२÷१५ गतेदेखि नै तयारी थालिने थारू अगुवा बेझलाल चौधरी बताउँछन् । माघको पूर्वसन्ध्या अर्थात् पुसको अन्तिम दिन बेलुकी खानपिन गरेर अगुवाहरू मटाँवाको घरमा जम्मा हुन्छन् । त्यसपछि सबै मिलेर रातभरि ढुम्रु गीत गाइन्छ । भोलिपल्ट अर्थात् माघ १ गते बिहान गाउँभरिका पुरुष नजिकैको खोला या तालतलैयामा स्नान गर्न जान्छन् । नुहाइधुवाइ गरेर फर्किएपछि घरको बैठक कोठामा राखिएको मास, चामल, नुनलाई तीन÷तीन पटक निकालेर अर्को टपरीमा राखिन्छ । यसलाई थारू भाषामा ‘निस्राउ कहर्ना’ भनिन्छ ।

“यसपछि ठूलाबडासँग आशीर्वाद लिई शुभकामना आदान–प्रदान गरिन्छ,” चौधरी भन्छन्, “परिवारका सबै सदस्य एकै ठाउँ बसी ढिक्री, मासु, तरुल लगायत परिकार खाइन्छ ।” त्यसपछि परिवारभित्रै वर्षभरि गरिने काम छुट्याई जिम्मेवारी तोकिन्छ । पारिवारिक योजनाहरू टुङ्ग्याएपछि सबै जना मटाँवाकहाँ भेला भई गाउँका सामूहिक योजना बनाउँछन् ।
भेलाले मटाँवा छानेपछि एक सातासम्म घर घर डुलेर मघौटा नाच्ने प्रचलन छ। “माघमा नाचेर उठेको पैसा केही सामूहिक कार्यमा लगाइन्छ । केही पैसाले चाहिं सामूहिक भोज गराउँदै माघलाई नाच्दै, गाउँदै बिदाइ गरिन्छ,” उनले भने ।

माघलाई रूपान्तरणको आवश्यक

माघमा राम्रा र नराम्रो दुबै पक्ष छन् । यसको राम्रो पक्षलाइ अंगालेर अगाडि बढ्नुपर्ने थारु अगुवाहरु बताउछन् । यदपी पछिल्लो समयमा माघ पर्वले सकारात्मक रूपान्तरण पनि ल्याइरहेको छ । पहिला माघमा छोराछोरीलाई कसको घरमा कमैया–कम्लरी पठाउने, कसको जग्गा कमाउने भन्ने छिनोफानो गरिन्थ्यो । अहिले यही दिन छोराछोरीलाई कापीकलम दिएर स्कूल पठाउन थालिएको छ । “अझै पनि थारू समुदायका बालबालिका स्कूल नजाने, पढ्दापढ्दै बीचमै छाड्ने जस्ता समस्या छन् । यसपटक सबै अभिभावकले छोराछोरीलाई कसरी पढाउन सकिन्छ भन्नेमा व्यापक छलफल गर्नुपर्छ,” पूर्व कम्लरी एवं पूर्व सांसद शान्ता चौधरी भन्छिन् । माघ पर्वलाई अझै रूपान्तरण गरी आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक अभियानसँग जोडेर बहस गर्नुपर्ने उनको भनाइ छ ।
यसरी गरिन्छ नेतृत्व चयन

सिङ्गो थारू गाउँलाई नेतृत्व दिने व्यक्ति हुन् मटाँवा÷बरघर÷भलमन्सा । यी तिनै शब्दको अर्थ हो, गाउँको अगुवा । दाङ–बाँकेमा मटाँवा भन्छन् भने बर्दियामा बरघर र कैलाली–कञ्चनपुरमा भलमन्सा ।
२०६८ को जनगणना अनुसार, थारू समुदायको जनसङ्ख्या ६.६ प्रतिशत छ। आदिवासी जनजातिमा पर्ने यो समुदायको बसोबास पूर्वदेखि पश्चिमसम्मै फैलिएको छ । खास गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, कञ्चनपुरमा बाक्लो बसोबास छ । यद्यपि, मटाँवा÷बरघर÷भलमन्सा प्रथा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा मात्र रहेको अगुवाहरू बताउँछन् ।

बरघर÷भलमन्सा÷मटाँवा महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार, मटाँवा भएको र नभएको गाउँमा धेरै अन्तर देखिन्छ । मटाँवा भएका गाउँ विकासदेखि हरेक काममा अगाडि हुन्छन् भने मटाँवा नभएका गाउँ अस्तव्यस्त । भेलामा गाउँका विकास कार्यदेखि पूजापाठ कसरी गर्ने, कुन ठाउँमा के बनाउने, कहाँसम्म बाटो लैजाने, कहाँ मर्मत गर्ने, आर्थिक स्रोत कहाँबाट जुटाउने आदि विषयमा व्यापक छलफल हुन्छ। यससँगै एक वर्षका लागि गाउँ चलाउने नेतृत्व कसलाई दिने भन्ने टुङ्गो लगाइन्छ । सकेसम्म सर्वसम्मतिमा र नभए लोकतान्त्रिक अभ्यासबाट निर्वाचन गरी नयाँ मटाँवा चयन गरिन्छ ।

महासंघ अध्यक्ष चौधरीका अनुसार, मटाँवालाई सघाउन अन्य दुई व्यक्ति ‘अघवा’ र ‘चौकिड¥वा’ पनि छानिन्छन् । मटाँवाको नेतृत्वमा कचहरी बस्नुअघि प्रत्येक घरमूली अर्थात् ‘गरढु¥या’ लाई खबर गर्ने, गाउँमा नयाँ योजना आउँदा गाउँलेलाई जानकारी दिने काम अघवाको हुन्छ । त्यस्तै, बाटो, कुलो बनाउनुपरे, बाँध बाँध्नुपरे गरढु¥याहरूलाई काम लगाउने जिम्मा पनि उसैको हुन्छ । चौकीदारले चाहिं गाउँदेखि अन्नबालीसम्म रेखदेख गर्नुपर्छ ।

मटावालाई कानूनी मान्यता
दाङका पालिकाले मटावालाई कानूनी मान्यता नदिएपनि बर्दिया, कैलाली र कञ्चनपुरका स्थानीय तहले मटाँवा (बडघर÷भल्मन्सा) प्रथालाई कानूनी मान्यता दिएका छन् । मटाँवा प्रथालाई कानूनी मान्यता दिने सबैभन्दा पहिला पालिका बर्दियाको बारबर्दिया नगरपालिका हो ।
नगरपालिकाले गत वर्षदेखि मटाँवा, बडघर र भल्मन्साहरूलाई सामाजिक तथा विकास निर्माणका काममा अग्रसर गराएको मेयर छविलाल थारु बताउँछन् । बारबर्दियाले ‘बरघर प्रणाली संरक्षण, प्रवद्र्धन र विकास गर्न बनेको ऐन, २०७७’ नगरसभाबाट पारित गरिसकेको छ । परम्परागत प्रथाको अभिलेखीकरण र संरक्षणमा टेवा पु¥याउने उद्देश्यले कानूनी मान्यता दिइएको मेयर थारुले बताए ।
यस्तै कैलालीको कैलारी गाउँपालिकाले ऐनमै व्यवस्था गरी ‘थारू समुदायको प्रथाजनित संगठनको क्षेत्राधिकार सम्बन्धित गाउँमा रहने’ गरी बडघरको कार्यक्षेत्र तोकिदिएको छ । ऐनमा गाउँको विकास निर्माण, शान्ति सुव्यवस्था आदि कायम गर्न बडघर प्रणालीलाई अझै सशक्त बनाउनुपर्ने र स्थानीय विकासमा न्यायोचित सहभागिता र पहुँच सुनिश्चित गर्नुपर्ने उल्लेख छ । त्यस्तै, सामाजिक न्याय, मेलमिलाप, सद्भाव र दिगो विकासका लागि चिरकालदेखि अभ्यासमा रहेका प्रणालीलाई कानूनी मान्यता दिई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
थारू अगुवा एवं गुर्वावा एफ.एमका निर्देशक एकराज चौधरीका अनुसार, अहिलेसम्म थारू बहुल क्षेत्रका १० स्थानीय तहले मटावा प्रथालाई कानूनी मान्यता दिएका छन्। तिनमा बर्दियाका बाँसगढी, ठाकुरबाबा र मधुवन नगरपालिका छन् । बर्दियाकै राजापुर नगरपालिका र बढैया गाउँपालिका चाहिं यसका लागि आवश्यक ऐन निर्माणमा जुटिरहेका छन् । त्यस्तै, दाङको तुलसीपुर नगरपालिका, कैलालीका टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका, कञ्चनपुरका कृष्णपुर शुक्लाफाँटा र बेलौरी नगरपालिकाले पनि कानूनी मान्यता दिएका छन् । कैलालीकै जानकी गाउँपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिका ऐन निर्माणको चरणमा छन् ।
हराउँदै माघको मौलिक्ता

जब जब माघ आउछ, थारु गाउँम माघको सुरिलो भाकामा मघौटा गीत गुञ्जिछन् । जुन गीत र मघौटा मादलको ताल सन्दा साँच्चिकै माघ आएको आभास हुन्छ ।
बाबाकी सगरवा मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा
सखिए हो, टोपिया छुटल पानी घाट, सखिए हो ।
उजरि बजार गैली हाँ सँकरि गलियावा
सखिए हो, भइगैल साँझ बिसरी गैल सेन्डुरा सखिए हो ।।
यो मघौटा गीत बुढापाकाले मघौटा नाच नाच्दा गाउँछन् । तर युवाहरुमा त्यो पाइदैन । जसले गर्दा पछिल्लो वर्ष थारु समुदायमा माघकोे मौलिक्ता हराउँदै गएको छ । माघको समयमा गाउँ गाउँमा सुनिने मघौटा भाका, मघौटा नाच नाच्न छाडेर युवाहरु डिजेमा आर्षित हुनथालेपछि माघको मौलिकता हराउन थालेको भन्दै थारु अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेकाछन् । मादल, लहंगामा नाचिने मघौटा नाच हिजआजका युवाहरु डिजेमा आकर्षित छन् । आफ्नै छुट्टै मौलिक बाजागाजा, माघमा गाउँने मौलिक गीतका भाकाहरुछन्, तर युवाहरु डिजेमा आकर्षित भएकोले माघको मौलिकता घटेको थारु अगुवारुहको ठम्याइ छ ।


यदपी माघको मौलिकता जोगाउनको लागि थारु कल्याणकारिणी सभ लगायत विभिन्न थारु संघ सस्थाहरुमा मार्फत अभियानकै रुपमा गाउँदेखि शहरसम्म माघ विशेष कार्यक्रम गरिरहेका थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीले बताउछन् । ‘माघमा मात्र नभइ हाम्रो हरेक पर्वमा राम्रो संस्कार, संस्कृति छ, उनले भने–यी राम्रो पक्षलाई अंगाल्दै पुराना पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्दै पुस्ता हस्ताणतरण गर्न सकियो भने माघ मात्रै हैन हाम्रा हरेक पर्व तथा संस्कृतिको मौलिक्ता जोगिन्छ ।’ माघ गरिने माघी डेवानीमा युवा पुस्ताले त्यति चासो नदिदा माघको महत्व घटेको आभास भएपनि विगतको बर्षदेखि पछिल्लो समयमा यसको महत्व पुनः बढ्दै गएको उनले दाबी गरे ।