यमकला भुसाल,तुलसीपुर,कात्तिक १६ ।
तुलसीपुर उपमहानगरपालिकाले सयपत्री फूल मालाको मुल्यमा एकरुपता कायम गर्न मुल्य निर्धारण गरेको छ ।बिहिवार उपमहानगरपालिका भित्रका पुष्प व्यवसायी र सरोकारवाहरुसगं भएको छलफल पश्चात फूल मालाको मुल्यमा एकरुपता कायम गर्न मुल्य निर्धारण गरिएको हो । पछिल्लो समय तिहार पर्वलाई मध्यनजर गर्दै जिल्लामा सयपत्री फूलखेती तर्फ युवा तथा विद्यार्थीहरुको आकर्षण बढ्दो क्रममा छ । जसले गर्दा यसवर्ष पुष्प विकास केन्द्रले पनि सयपत्री फूलमाला र प्लाष्टिकका मालाहरु आयातमा रोक लगाइएको छ ।
बातावरण र स्वास्थ्यका दृष्टिले पनि प्लाष्टिकका माला हानिकारक हुने भन्दै दाङ जिल्लामा पनि ४ वटा पालिकाले विज्ञप्ती जारी गरेर प्लाष्टिकका माला विक्रि वितरण र आयातमा रोक लगाएका छन । यसले गर्दा व्यवसायीक रुपमा फूलखेती गरेका युवा तथा विद्यार्थीहरु अझै उत्साहित भएका छन । तुलसीपुरमा १५ जना पुष्प व्यवसायी र ४ वटा सामुदायीक तथा निजि स्कुल–कलेजहरु (गोरखा मोडेल कलेज तुलसीपुर,तुलसीपुर बहुप्राविधिक शिक्षालय,गुरुजजुर मावी र अमर मावी उरहरी ) ले व्यवसायीक रुपमा फूलखेती गरेका छन ।
उनीहरुको गरेको फूलखेतीको बजारिकरणमा सहजता लागि न्युनतम प्रतिकेजी ३ सय रुपैयाका दरले मुल्य निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले जानकारी दिए । उनले व्यवसायीहरुलाई फूल मालाहरु बिक्रि वितरणमा सहयोग पु¥याउन उपमहानगरपालिकाले तुलसीपुरका ४ स्थानहरु उत्तरमा अरणीको मैदान,दक्षिणमा तरकारी तथा फलफूल परिसर,पश्चिममा बसपार्क कोशेली घर र पुर्वमा घोराही रोडमा रहेको तुलसी मार्टलाई क्षेत्र निर्धारण गरिदिएको बताए ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान सराहनीय रहेको भन्दै फूल व्यवसायी मात्र नभएर हरेक व्यवसायीको हकहितका लागि उपमहानगरपालिका गम्भिर बन्न आग्रह गरे । उनले यो अभियानमा आफु पनि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । उनले मौसमी फूलहरुलाई मात्र प्राथमिकता दिनुभन्दा सदावहार रुपमा व्यवसायीक फूलखेती गरि जिल्लालाई फूलमा आत्मनिर्भर बनाउन सके आर्थिक रुपमा पनि टेवा पुग्ने विस्वास व्यक्त गरे ।
त्यस्तै बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्का र तुलसीपुर चम्बर अफ कर्मशका कोषाध्यक्ष सन्तोष खडकाले उपमहानगरापलिकाले प्लाष्टिकका मालाहरु बिक्रि वितरणमा प्रतिबन्ध लगाएपनि बजारका भित्रि गल्लीहरुमा अहिले पनि प्लाष्टिकका मालाहरु बिक्रि भैरहेको भन्दै यसप्रति उपमहानगरपालिका गम्भिर हुनुपर्ने बताए । उनीहरुले प्लाष्टिकका मालाहरु बिक्रि गर्ने मात्र होइन प्लाष्टिकका माला लगाउनेलाई पनि कारबाही हुन्छ भन्ने सन्देश दिन सकेमा यो अभियानले सार्थकता पाउने बताए ।
त्यस अवसरमा पुष्पखेती गर्दै आएका संस्कृत बिश्वबिद्यालयका बुद्धिराज पौडेल, मेट्रो कलेजका क्याम्पस प्रमुख बसन्त आचार्य,गोरखा मोडेल कलेजका क्याम्पस प्रमुख पुर्ण बिक्रम डाँगी, तुलसीपुर ९ बेलुका तुल बहादुर बिक, तुलसीपुर – ७ गणेशपुरका खेतु भण्डारी, मेट्रो कलेजका कृषि प्रशिक्षक घनस्याम केसी, तुलसीपुर – १ भमकेका केबि वलि, गुरुजजुर मावीका राजिब रेग्मी लगाएतले तिहार नजिकिदै गर्दा फूलको माग अत्याधिक रहेको भन्दै जिल्लामा आवश्यक पर्ने फूलहरु बाहेक बाँकी फूलहरु बाहिरी जिल्लाहरु पनि निर्यात गर्न सकिने बताए । साना पुष्प व्यवसायीहरु उत्पादित फूलहरु खेर जान्छन कि भनेर निरास हुनुपर्ने अवस्था नरहेको बताए । दाङमा उत्पादन भएका फूलहरु छिमेकी जिल्ला सल्यान,बाँके,नेपालगञ्ज,बुटवल,प्युठान,रोल्पा सुर्खेत लगाएत बाहिरी देशहरुमा पनि पठाउने गरेको बताए । तर उनीहरुले अस्वस्थ प्रतिष्पर्धा,खादालाई निरुत्साहित र पुष्प व्यवसायलाई आयआर्जनको माध्यम बनाउन उपमहानगरपालिका चनाखो बन्न सुझाव दिए ।
कार्यक्रममा पत्रकार नारायण खडका,अमर भण्डारी,बालाराम खड्का लगाएतले उपमहानगरपालिकाले गरेको कार्य सराहनीय र सकारात्मक रहेको तर्क गरे ।
त्यस्तै तुलसीपुर बजारमा प्लाष्टिकका मालाहरु विस्थापित गर्नका लागि सबै सरोकारवालाहरुले संयुक्त रुपमा अनुगमन गर्ने र प्लाष्टिकका माला बिक्रि गर्दै आएका व्यवसायीहरलाई फूलका मालाहरु बिक्रि वितरण गर्न आग्रह गर्ने निणर्य गरिएको नगरप्रमुख खड्काले बताए । व्यवसायीहरुको फूल विक्रि वितरणमा सहयोग पु¥याउन उनीहरुको नाम,ठेगाना,सम्पर्क नम्बर सहित प्रचारप्रसारमा सहयोग गर्ने उनले बताए ।