दाङमा बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव हुने

दाङ,  फागुन । दाङमा चार दिने “बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुपको मुख्य आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनामा फागुनको १८ गतेदेखि २१ गतेसम्म दाङको घोराहीस्थित कृषि सामग्री कम्पनीको खुला मैदानमा अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने भएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले बुधवार पत्रकार सम्मेलन गरी स्थानीय तथा देशको मौलिक कला संस्कृति विश्व समुदायमा परिचित गराउने र जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले लोक सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बारे जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा नेपाल, भारत, जर्मन, अष्ट्रिया, वेल्जियम, वोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका र दक्षिण कोरीयाका करिव ३ सय वढी कलाकारहरुको मौलिक प्रस्तुति रहने छ । ऐतिहासिक कार्यक्रममा दाङको मौलिक परम्परागत कलासंस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरुपनि प्रस्तुत हुने आयोजकले जनाएको छ ।

करीव १२ वर्षअघि पनि यस प्रकारको कार्यक्रम आयोजना गरिएको थियो । यस पटकको महोत्सवमा १३ देश र लुम्विनी प्रदेशकै सांस्कृतिकप्रतिनिधित्व हुनेगरी निम्नानुसार कार्यक्रमहरू प्रस्तुत गरिने भएको छ ।

जस अनुसार, फागुन १८ गते स्थानीय झाँकी शोभायात्रासहित उद्घाटन एवं सांस्कृतिक प्रस्तुति रहनेछ । फागुन १९ गते स्थानीय सांस्कृतिक एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । फागुन २० गते स्थानीय सांस्कृतिक एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ र फागुन २१ गते १३ देशका २ सय ७० जना कलाकार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक प्रस्तुतीपश्चत कार्यक्रम समापन गरिनेबाह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव मूल आयोजक समिति संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो ।

लोकसांस्कृतिक महोत्सव सम्पन्न गर्न उद्योग वाणिज्य संघले विभिन्न समिति तथा उपसमितिको संयोजक तोकेर जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।